काठमाडौं- ‘कोरोना भनेको गुड्ने यातायातका साधनले मात्र सार्ने हो कि उड्ने जहाजले पनि सार्छ?’, यत्ति कुरा त सरकारले बुझ्नु पर्ने हो नि!,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आक्रोश पोखे, ‘जहाज उडाउने तर गुड्ने साधन बन्द गर्ने नियम पूरै विभेदकारी भयो।’
निषेध आदेश जारी गरिएका बेला यातायात सम्बन्धी नियमले आफूहरुलाई अन्याय भएको भनाइ यातायात व्यवसायीहरूको छ। यातायात व्यवसायीहरुले बुधबार मात्रै औपचारिक रुपमा प्रेस नोट जारी गर्दै नियमप्रति आपत्ति जनाएका हुन्। उनीहरूले ‘यस्तो विभेदकारी निर्णय नसच्याइएमा आफूहरुले सडकमा गुड्ने सार्वजनिक सवारी साधन चलाएर सरकारको नियम उल्लंघन गर्ने’ चेतावनी समेत दिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नाममा जारी विज्ञप्तिमा ‘उपत्यकामा यात्रुबाहक सेवा क्षेत्रमा प्रदान गर्दै आएका स्थल यातायातबाट यात्रु ओसारपसार गर्न निषेध गरी हवाई यातायातबाट यात्रु ल्याउने लैजाने कार्य गलत’ भनिएको छ।

सरकारले यस्तो निर्णयमा पुनर्विचार गरी स्थल यातायातबाट पनि स्वास्थ्य प्रोटोकल पूरा गरेर यात्रु ल्याउने लैजानै कार्यलाई सहज गरिदिन पनि महासंघले विज्ञप्तिमार्फत् आग्रह गरेको छ।
उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरूले वैशाख १६ गते बिहीबारबाट १५ दिनका लाागि उपत्यकामा निषेध आदेशको निर्णय गरिसकेका छन्। निषेध आदेश अनुसार उपत्यकामा सार्वजनिक सवारीसाधन रोकिएको छ भने हवाइ यातायातबारे केही भनिएको छैन।
पछिल्लो मन्त्रिपरिषद् बैठकले पनि हवाइ यातायातबारे केही निर्णय नगरेपछि सार्वजनिक यातायात व्यवसायीहरु आक्रोशित बनेका हुन्। ‘कि त जहाजहरु पनि बन्द गरिनुपर्ने थियो, यस्तो महामारीका बेला उड्न दिने तर गुड्न नदिने भन्ने कुनै तर्क भएन,' एक व्यवसायीले भने, ‘हामीले हाम्रो लगानी डुबाउने तर जहाजवालाहरुले चाहिँ संकटका बेला कमाउने?’, हाम्रो पनि बैंकमा ऋण छ।’ व्यवसायीहरुका अनुसार सार्वजनिक यातायातमा करिब १० खर्ब बराबरको लगानी छ।
उता हवाई सेवा सञ्चालकहरूले भने हवाई यात्रा सुरक्षित भएको दाबी गरेका छन्।