काठमाडौं– नेकपा (एमाले) को माधव नेपाल समूहले संगठन निर्माणका लागि हालसम्म भएका कामको समीक्षा गरेको छ।
उक्त समूहका स्थायी कमिटी सदस्यहरुको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले चालेका कदमको पनि समीक्षा हुनुका साथै आगामी रणनीतिबारे छलफल गरेको नेता भीम रावलले जानकारी दिए।
‘नवौं महाधिवेशनको मार्गनिर्देशन, विधान र मान्यता मिचेर अध्यक्ष केपी ओलीले गरिरहेका गलत क्रियाकलापको समीक्षा भयो। केन्द्रीय कमिटी गठन गरेर कथित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरियो। नेताहरुलाई स्पष्टीकरण सोधिने र कारबाही हुने काम भयो। यसको बारेमा कार्यकर्तालाई जानकारी देशव्यापी अभियान चलाइरहेका छौं। कोरोनाका कारण राजनीतिक गतिविधि कम भए पनि जारी राख्नेछौं,’ रावलले भने।
सर्वोच्च अदालतले गत फागुन २३ गते एमालेलाई पूर्ववत् रुपमा फर्काइदिएपछि उक्त पार्टी दुई गुटमा विभक्त छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालको समूहले समानान्तर संरचना गठन गर्दै राजनीतिक गतिविधि गर्दै आएको छ।