काठमाडौं– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। माधव नेपाल पक्षलाई बाहिर राखेर मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
मुख्यमन्त्रीको सचिवालयका अनुसार केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा सिफारिस गरिएको हो।
आजै ४ बजे सिफारिस गरिएका मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेकोे भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयाँलले जानकारी दिए।
पाण्डे नुवाकोट, नेपाल सिन्धुपाल्चोक, बस्नेत सिन्धुली र अधिकारी धादिङबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। माओवादीका मन्त्रीले राजीनामा दिएपछि मन्त्री पद रिक्त रहेको थियोे।