काठमाडौं - काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमित र अन्य बिरामीलाई अस्पताल लग्नका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाको संक्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मंगलबार आयोजित विशेष बैठकले कोरोना संक्रमित र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो।
महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवाको सहकार्यमा निःशुल्क सेवा प्रदान गर्न लागेको हो। मेयर विद्यासुन्दर शाक्यले १०२ मा फोन गरेर कोभिड पोजेटिभ भएका बिरामीले एम्बुलेन्सका लागि सम्पर्क गर्न सक्ने बताए। यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरपालिकाका विभिन्न क्षेत्रमा १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उनको भनाइ छ।
एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सीधै चालकसँग सम्पर्क गर्ने व्यवस्था मिलाएको छ। डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानुपरे महानगरपालिकाले प्रदान गरिरहेको निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने छ।
आपतकालीन अवस्थाका लागि महानगरपालिकाले टोल फ्री नम्बर ११८० लाई चौबीसै घण्टा सञ्चालन गर्ने जनाएको छ।