काठमाडौं- विवेकशील साझा पार्टीले लकडाउन गरेर मात्र सरकारको दायित्व पूरा नहुने भन्दै गम्भीर बन्न आग्रह गरेको छ। पार्टी प्रवक्ता शरदराज पाठकले सरकारलाई ५ बुँदे सुझाव दिँदै लकडाउन मात्र गरेर सरकारको दायित्व पूरा नहुने भन्दै स्मरण गराएको हो।
‘विगतको लकडाउनमा जस्तै नागरिकलाई घरभित्र राखेसँगै सरकारले आफ्नो दायित्व नभुलोस् भन्नेतर्फ सचेत गराउँदै हामी सरकारलाई निम्न सुझाव तत्काल कार्यान्वयनका लागि आग्रह गर्दछौँ,’ पार्टी प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कोभिड १९ को सङ्क्रमण नियन्त्रण राज्य र नागरिकको संयुक्त र सुझबुझपूर्ण पहलकदमीबाट मात्र सम्भव हुने भन्दै पार्टीले जिम्मेवारपूर्ण व्यवहार गर्न पार्टीका सदस्यका साथै नागरिकलाई पनि अपिल गरेको छ।
यी हुन् पार्टीका सुझाव
१) सङ्क्रमणको दोस्रो लहरको अहिलेको सुरुवाती अवस्थामा नै केही अस्पतालमा अक्सिजन र आइसियु शय्यासहित जनशक्ति अभावले भयावह स्थिति देखिइसकेकाले हर सम्भव उपाय लगाएर तत्काल समस्या समाधान। अस्पतालहरूमा बिग्रिएका अक्सिजन प्लान्ट मर्मतदेखि सिलिन्डर आयातमा आवश्यक तदारुकता।
२) कोरोना परीक्षणलाई व्यापक बनाइ कन्ट्याक्ट ट्रेसिङमा जोड।
३) क्वारेनटिन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन।
४) दैनिक ज्याला मजदुरी गरेर साँझ बिहान छाक टार्ने वर्गका लागि लकडाउन अवधिमा स्थानीय सरकारका प्रतिनिधिहरूद्वारा नागरिक समूहहरूको सहयोगमा खाद्य सामग्री वितरणसहित आवश्यक रेखदेख।
५) कोभिड १९ विरुद्धको खोप केन्द्रहरूमा देखिएको भद्रगोलपूर्ण व्यवस्थापन सुधार गरी भिडभाड नियन्त्रण।