पर्सा- पर्सा जिल्लामा वैशाख १६ गतेदेखि लागू हुने गरी निषेध आदेश जारी भएको छ। प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मंगलबार एक साताका लागि निषेध आदेश जारी गरेका हुन्।
यसअघि सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि एक सातासम्म निषेध आदेश जारी गर्न सिफारिस गरेको थियो।
निषेध आदेश लागू भएको अधविमा औषधोपचार र अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नपाइने भएको छ। यो अवधिमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका सवारी साधन चलाउन पनि पाइने छैन।
यस्तै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदि सञ्चालन गर्न पाइने छैन। विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालय, पर्साबाट अनुमती लिएर मात्र गर्न पाइने छ।
खाद्य वस्तुका पसल बिहान १०:०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी/गराई खोल्न पाइने आदेशमा उल्लेख छ। यस्तै, वीरगंज ईनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमन पूर्ण रुपमा रोक लगाइएको छ।
यस्तो छ पर्साका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश
विश्वव्यापी महामारीको रुप लिईरहेको कोभिड-१९ को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको हुँदा उक्त संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मिति २०७८-०१-१४ गतेको निर्णय समेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भरी यही मिति २०७८-०१-१६ गते विहान ४:०० बजे देखि मिति २०७८-०१-२२ गते राती १२:०० बजेसम्म लागु हुने गरी देहाय बमोजिमको आदेश जारी गरिएको छ। यो आदेशको पालना गर्नु/गराउनु सम्बद्ध सबैको कर्तब्य हुनेछ। कोही कसैले यो आदेशको बर्खिलाप हुने गरी काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैलाई जानकारी गराईन्छ।
देहाय
औषधी उपचार एवं यस आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाईने छैन ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन । विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालय, पर्साबाट अनुमती लिएर मात्र गर्न पाईने छ।
मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला ब्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षिको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त (पास) सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका नीजि तथा सार्वजनिक यातायातका सवारी साधनहरु (दुई पाङ्ग्रे समेत) सञ्चालन गर्न पाईने छैन ।
खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र ब्यवसाय बाहेक अन्य सबै पसल, ब्यवसाय हाललाई सञ्चालन नगर्ने । खाद्य वस्तुका पसल, ब्यवसायहरु विहान १०:०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी/गराई खोल्न पाईने छ ।
बीरगंज ईनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमन पूर्ण रुपमा रोक लगाईएको छ ।
यस जिल्लाको ईनर्वा सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्नेछ ।
अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक एवं नीजि सेवा प्रवाह हाललाई स्थगन गरिएको छ ।
अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवत जावत गर्नुपर्ने छ ।
मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा र विकास निर्माणका आयोजनासँग सम्बन्धित सामग्री एवं जनशक्तिले प्रयोग गर्ने सवारी साधनहरु जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र सत्र्चालनमा ल्याउन सकिने छ ।
यस सम्बन्धमा आवश्यकता अनुसार थप सूचना जारी हुन सक्नेछन्।
पिताम्बर घिमिरे
प्रमुख जिल्ला अधिकारी