सुर्खेत- स्याउ जोन कार्यालय डोल्पाका कार्यालय प्रमुख हस्मुला खाँ २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले खाँ मंगलबार दिउँसो पक्राउ गरेको हो।
उपभोक्तालाई उन्नत जातका स्याउका बिरुवा उपलब्ध गराइदिने प्रलोभन देखाएर कार्यालय प्रमुख खाँले घुस मागेका थिए।
सेवाग्राहीबाट घुस मागिरहेको सूचनापछि सरोज पौडेल र प्रेम सुवेदीसहितको टोली नेपालगञ्ज हुँदै डोल्पा पुगेको थियो।
पक्राउ परेका खाँबारे थप अनुसन्धान भइरहेको आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी रमेश गौतमले जानकारी दिएका छन्।