काठमाडौं– कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
माइकिङ र प्लाकार्डसहित पछिल्लो २४ घण्टामा गरिएका ७०२ वटा सचेतनामूलक कार्यक्रमबाट १ लाख ४७ हजार २ सय ९५ जना लाभान्वित भएको प्रहरीले जनाएको छ।
संक्रमण रोक्न स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको छ।
अभियानको क्रममा पछिल्लो २४ घण्टामा ११ हजार ७ सय २२ जनालाई प्रहरीले निःशुल्क मास्क वितरण गरेको छ। मास्क नलगाई हिँडडुल गर्ने २३ हजार ९ सय ४१ जनालाई होल्डिङ जोनमा राखी सम्झाईबुझाई पठाइएको छ।
साथै तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ४ सय ६५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। साथै मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ।
नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लाकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ।