सुर्खेत– सल्यानमा परीक्षा दिन हिँडेकी एक छात्राको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका २ अत्तरकाँडाकी चन्द्रकला सार्की छन्।
भानुभक्त माविमा कक्षा १० मा अध्यनरत उनी मंगलबार गणित विषयको परीक्षा दिन घरबाट विद्यालय जाँदै थिइन्। विद्यालय जाने बाटो अप्ठेरो र ओरालो छ। बाटोभरि सल्लाको कुसुम झरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार उनी सल्लाको कुसुममा चिप्लिएर लडेकी थिइन्।
कोरोना महामारीमा पनि सल्यानका केही विद्यालयले आन्तरिक परीक्षा सञ्चालन गरिरहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।