पर्सा- पर्सा जिल्लामा वैशाख १६ गतेदेखि लागू हुने गरी निषेध आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि एक सातासम्म लागू हुने गरी निषेध आदेश जारी गर्न सिफारिस गरेको हो।
डीसीसीएमसी बैठकले सामुदायिक भवनलाई क्वारेन्टाइन सेन्टर बनाई विदेशबाट आउनेहरूलाई १५ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णयसमेत गरेको छ।
वीरगञ्जका हकमा भने निजी विद्यालय तथा क्याम्पसलाई आइसोलेसन बनाउनसमेत निर्णय बैठकले गरेको छ।
यसअघि नै तोकिइसकेका विवाहका हकमा बढीमा १५ जना सहभागी हुन पाउने व्यवस्था गर्न भनिएको छ। तर यसका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था मिलाउनसमेत भनिएको छ।
यसैगरी, वीरगञ्जको नेसनल मेडिकल कलेजलाई कोरोना संक्रमितको उपचार गर्नका लागि अनुरोध गर्ने निर्णय समेत डीसीसीएमसी बैठकले गरेको छ।

