काठमाडौं– प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने अन्तिम तयारीमा छन् माओवादी केन्द्र र नेपाली कांग्रेस। अविश्वास प्रस्तावका लागि अब विलम्ब नगर्ने सहमति दुई दलबीच भइसकेको छ।
तर, यो सहमति कार्यान्वयन गर्न जनता समाजवादी पार्टी (जसपा) को भूमिका निर्णायक छ। ओलीसँग सहकार्य गर्ने कि उनलाई हटाउने भनेर निर्णय गर्न नसकिरहेको जसपाले आज (मंगलबार) आज शीर्ष नेताहरुको बैठक बोलाएको छ।
अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी आजको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ। शीर्ष नेताको बैठकपछि कार्यकारिणी समितिको बैठक बस्ने तयारी छ। हिजो सोमबार उनीहरूबीच छलफल भएको थियो।
संसद्को चौथो ठूलो दल जसपाले माओवादी र कांग्रेसलाई साथ दिने निर्णय गरे तत्कालै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी छ।
सत्ता साझेदारी वा ओलीको बहिर्गमनबारे जसपा लामो समयदेखि अनिर्णित छ। पार्टीभित्र ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई हटाउने होइन, आफ्ना माग पूरा गराएर सत्ता सहकार्य गर्ने पक्षमा देखिँदै आएका छन् भने भट्टराई र यादव ओलीलाई सरकारबाट हटाउनुपर्ने पक्षमा छन्। यही दुई लाइनका कारण जसपा अनिर्णित रहँदै आएको छ।
पछिल्लो समय भने जसपाभित्र ओलीविरुद्धको मत बलियो हुँदै आएको बताइएको छ। लामो समयदेखि अनिर्णयको बन्दी बनेको आरोप लागेपछि बहुमतका आधारमा भए पनि निर्णय गर्ने मनस्थितिमा नेताहरु पुगेका छन्। जसपाले आज निर्णय गरे भोलि नै संसदमा प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा कांग्रेस र माओवादी छन्।
जसपालाई मनाएर नयाँ सत्ता गठबन्धन गर्ने निर्णयमा दुई दल पुगिसकेका छन्। लामो छलफलपछि वैशाख ५ गते कांग्रेस र माओवादीबीच ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने सहमति भएको थियो।