काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)लगायतका खेलहरूमा सट्टाबाजी गरेको भन्दै काठमाडौंका विभिन्न ठाउँबाट ११ जनालाई पक्राउ गरिएको छ।
उनीहरूबाट सट्टाबाजीमा प्रयोग भएका १७ थान मोबाइल, नगद दुई लाख ९६ हजार रूपैयाँ, डायर बेटिङमा हिसाबकिताबका लागि भएका कागजातहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं वनस्थली बस्ने कैलाली धनगढी नगरपालिका-२ का अशोक सिंह (३१), काठमाडौं ठमेल बस्ने भारत विहारका बिक्रमकुमार जैसवाल (२९), रौतहट गौर नगरपालिका-१ का राहुलकुमार जैसवाल (२८), काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–८ का राजु थापा (३६), धादिङ गल्छी गाउँपालिका-२ का सन्तोष खतिवडा (३१), ललितपुर महानगरपालिका जावलाखेल बस्ने भारत विहारका अंकितकुमार कलवार (३१) छन्।
त्यस्तै काठमाडौं कालीमाटी बस्ने मोरङ विराटनगर महानगरपालिका-३ का सन्दीपकुमार मण्डल (३०), काठमाडौं महानगरपालिका-२३ बस्ने भारत हिमाञ्चल प्रदेशका सुशील जेस्टा (४६), काठमाडौं लाजिम्पाट बस्ने भारत राजस्थान सुजनगढ थाना घर भएका पवनकुमार शर्मा (३१), भारत राजस्थानका सूचित अग्रवाल (३०) र काठमाडौं जमल बस्ने भारत विहारका मुकेश जैसवाल (४०) लाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
आईपीएल तथा प्रिमियर लिग फुटबल, ला लिगा, सिरी ए लिग, यूईएफए च्याम्पियन लिगलगायतका खेलहरूमा सट्टाबाजी भइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले भारतलगायत अन्य मुलुक समेतबाट सट्टाबाजी गर्नका लागि युजर आईडी र पासवर्ड लिई कमिसनमा खेल खेलाउने, ग्राहकहरू खोज्ने, हारजित भएका व्यक्तिहरूको रकम लिने-पुर्याइदिने जस्ता काम गर्ने गरेका थिए।
थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।