काठमाडौं – जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्समाथि पाँच विकेटको जित निकालेको छ।
अहमदाबाद रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबका ब्याट्सम्यान जम्न नसक्दा उसले ९ विकेटको क्षतिमा १२३ रन बनाएको थियो।
जबाफी ब्याटिङमा १६ ओभर चार बल खेल्दै चार विकेटको क्षतिमा कोलकाताले १२६ रन बनाउँदै लक्ष्य पूरा गर्यो। कोलकाताका लागि कप्तान इयोग मोगर्नले ४७ र राहुल त्रिपतिले ४१ रन बनाए। पञ्जाबका मोइसेज हेनरिक, मोहम्मद शामी, अर्षदीप सिंह र दीपक होडाले कोलकाताको समान १–१ विकेट गिराए।
त्यसअघि ब्याटिङमा आएको पञ्जाबका केएल राहुलले १९, मयंक अग्रवालले ३१ र निकोलस पुरनले १९ रन बनाउनुबाहेक अन्यले सम्झनलायक प्रदर्शन गरेनन्। कोलकाताका प्रशिद कृष्णले तीन विकेट गिराउँदा पट कमिन्स र सुनिल नायरले समान २–२ विकेट लिए।
प्रतियोगिताको दोस्रो जितसँगै कोलकाताले चार अंक बनाएको छ। पञ्जाबको पनि समान चार अंक छ।