पोखरा- कास्कीमा पनि बुधबारदेखि एक साताका लागि निषेध आदेश लागू हुने भएको छ। निषेध आदेशको अवधिमा अत्यावश्यक बाहेकका सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जोर गते जोर नम्बरका सवारी र बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउन आदेश जारी गरेका हुन्।
सो अवधिमा सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुदका गतिविधि, ब्युटीपार्लर, सैलुन, फुटपाथ पसललगायतका स्थान भने बन्द गर्न आदेशमा भनिएको छ। विवाह, ब्रतबन्धलगायतका धार्मिक कार्यमा भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी १५ भन्दा कम मानिसको सहभागितामा सञ्चालन गर्नुपर्ने भएको छ।
निषेध आदेश अविधिमा दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामग्रीका पसल बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ। होटल तथा रेष्टुरेन्टले भने 'टेक अवे' सेवा मात्र दिन सक्ने छन्।
