सुर्खेत- कर्णाली प्रदेशका सांसदहरुले विकास बजेट कटौती गरेर भए पनि अस्पतालहरुमा अक्सिजन पुर्याउन माग गरेका छन्।
सोमबार बसेको प्रदेशसभाको विशेष समयमा बोल्ने सांसदहरुले विकास बजेट कटौती गरेर भए पनि सबै अस्पतालहरुमा अक्सिजन पुर्याउन प्रदेश सरकारलाई आग्रह गरेका हुन्।
‘संक्रमणको दर बढ्दै गएमा कर्णालीमा अक्सिजनको अभाव हुन थालेको छ’ सांसद जीवनबहादुर शाहीले भने, ‘अहिलेको अवस्थामा विकासे योजनाहरु नबन्न सक्छ। नागरिकको सुरक्षाको लागि विकास बजेट कटौती गरेर भए पनि अस्पतालहरु अक्सिनजहरु आपूर्ति गरौँ।’ उनले अस्पतालमा अत्यावश्यक पर्ने अक्सिजन, विद्युत अभाव हुने अस्पतालहरु २४ घण्टे टेन्डर गरेर जेनेरेटरलगायतका पूर्वाधारहरुको व्यवस्थापन गर्न सरकारलाई अनुरोध थियो।
त्यस्तै हरेक नागरिकलाई मास्क तथा सेनिटाइजर वितरण र कोरोना नियन्त्रणमा खटिने गरी प्रदेशका सांसदहरु सम्मिलत संयन्त्र बनाउन आग्रह गरे।
यस्तै सांसद ठम्मर विष्टले पनि कोरोना नियन्त्रणका लागि अत्यावश्यक पूर्वाधारको तत्काल व्यवस्था गर्न सरकारलाई आग्रह गरे। ‘कोरोनाको दोस्रो लहरबाट कर्णाली भयावह हुने अवस्था देखिन्छ’ सांसद विष्टले भने, ‘प्रदेशमा अक्सिजन अभावको आपूर्ति गर्न प्रदेश सरकार गम्भीर बनोस्।’ कोरोना विशेष अस्पताल (प्रदेश अस्पताल) मा अक्सिजनको सहज आपूर्ति लागि अक्सिजन प्लान्ट र सिलिन्डरको तत्काल व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे।
अन्य सांसदहरुले कर्णालीलाई कोरोनाको हटस्पट बन्न नदिन र नागरिकको जीवन रक्षाको लागि अक्सिजनको आपूर्ति र जनशक्तिको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे।
कर्णाली प्रदेशमा जुम्लाबाहेकका जिल्लाहरुमा अक्सिजन अभाव छ। हुम्ला र सुर्खेतमा भएका अक्सिजन प्लान्टहरु पनि बन्द छन्। सुर्खेत र हुम्लामा जिल्लामा सिलिन्डरबाट अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ। जटिल प्रकृतिका संक्रमित बढ्न थालेपछि सुर्खेतको कोरोना अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ।