विराटनगर- कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र, विराटनगरमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। सोमबारदेखि कर्मचारीहरू कोरोना संक्रमितको उपचारको काम नै छाडेर आन्दोलनमा उत्रिएका हुन्।
सरकारले तोकेको न्यूनतम पारिश्रमिकलगायतका सुविधा नपाइएको भन्दै आन्दोलन थालेका उनीहरूले माग पूरा नभएसम्म काममा नफर्किने बताएका छन्। संक्रमितको उपचारमा विशेष ध्यान दिनुपर्ने बेला न्यूनतम सुविधाकै लागि आन्दोलनमा जार्नुपर्ने आफूहरूलाई बाध्य पारिएको कर्मचारीहरूको भनाइ छ।
सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्त गरेका डाक्टर, नर्स र पारामेडिक्सले कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा पाएका छन्। कोरोना संक्रमण कम हुँदै गएपछि बिदामा बसेका उनीहरुले अहिले पुर्ननियुक्ति पाएर काममा फर्किए पनि सरकारले तोकेको सुविधा पाएका छैनन्। पटक–पटक सुविधा दिन माग गरिए पनि सरकारले वास्ता नगरेको आन्दोलनमा होमिएकी एक नर्सले बताइन्।
कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले स्वास्थ्यकर्मीले उठाएको जायज माग सम्बोधन गर्न प्रदेश सरकार गम्भीर रहेको जानकारी आफूले पाएको बताए। उनले तत्काल आन्दोलन छाडेर स्वास्थ्यकर्मीले संक्रमितको उपचारमा फर्कन आग्रह गरे।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका संयोजक एपोलो भगतले स्वास्थ्यकर्मीको माग सम्बोधन गर्दै समस्या समाधानका लागि मन्त्रालयसँग आवश्यक छलफल र पहल भइरहेको बताए।
स्वास्थ्यकर्मीको आन्दोलनका कारण संक्रमितले उपचार नपाएर अवस्था थप जटिल बन्ने देखिएको छ। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र एक सय ८० बेड छन्। ६ जना नर्स, तीन जना पारामेडिक्स र ५ जना चिकित्सक कार्यरत केन्द्रमा अहिले ३२ जना संक्रमित बेड भर्ना भएका छन्। आन्दोलनका कारण संक्रमितको उपचार प्रभावित भएको छ।