विराटनगर- विराटनगर महानगरपालिका-७ स्थित एक हार्डवेयरको गोदामभित्र आइतबार राति पेस्तोल र गोली भेटिएको छ।
आरएम टेडर्स नामक लुकाएर राखेको अवस्थामा एउटा कटुवा पेस्तोल र दुई राउण्ड गोली भेटिएपछि हार्डवेयरका कामदार सुनसरीको इटहरी उप-महानगरपालिका–१७ का २३ वर्षीय सुजित साहलाई प्रहरीले पक्राउ गरेको छ। उक्त गोदाम वरुण धाडेवाको घरको सटर भाडामा लिएर सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ।
गोदामभित्र पेस्तोल र गोली ल्याएर राखेको पाइएपछि साहलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
उनीविरुद्ध प्रहरीले हातहतियार खरखजना मुद्दा चलाउन आज म्याद थप गरेर घटनाको अनुसन्धानअघि बढाएको छ। पक्राउ परेका साहले आफूले नै ल्याएर पेस्तोल र गोली हार्डवेयरको गोदामभित्र लुकाएर राखेको बताएको प्रहरीले जनाएको छ।
भन्सार छली गरेर ल्याइएको तस्करीको सामान लुकाएको आशंकामा प्रहरीसहित राजस्व अनुसन्धान कार्यालय इटहरीको टोली छापा हान्न हार्डवेयरको गोदाममा पुग्दा पेस्तोल र गोली फेला परेको थियो।
आफूसँग कारोबार गर्ने व्यक्तिलाई तर्साउनलाई हार्डवेयर गोदाम सञ्चालकले पेस्तोल राखेको हुनसक्ने प्रहरीको अनुमान छ।