शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतबाटै आउँछन् दैनिक साढे पाँच सय यात्रु, कहिले रोक्ने अन्तर्राष्ट्रिय उडान ?

भारतबाटै आउँछन् दैनिक साढे पाँच सय यात्रु, कहिले रोक्ने अन्तर्राष्ट्रिय उडान ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले दैनिक ५ सय ५१ यात्रु भारतबाट आइरहेको बताए।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– भारतमा कोरोना महामारीले भयावह अवस्था उत्पन्न हुँदा पनि त्यहाँबाट दैनिक बेरोकतोक जहाज नेपाल आइरहेका छन्। यस्तै नेपालबाट भारततर्फको उडान पनि रोकिएको छैन। 

नेपाल एयरलाइन्सको एउटा र इन्डियन एयरलाइन्सको एउटा जहाजले दैनिक दिल्ली–काठमाडौं–दिल्ली उडान भर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले दैनिक ५ सय ५१ यात्रु भारतबाट आइरहेको बताए। भारतसहित अन्य देशबाट दैनिक ४० वटा उडान हुने गरेकामा त्यसमार्फत ४ हजार व्यक्ति आवतजावत गरिरहेका छन्। 

भारतमा आइतबार तीन लाख ५४ हजार ५ सय ३१ जना कोरोना संक्रमित थपिएका थिए। यस्तै एकै दिन २ हजार ८ सय ६ जनाको मृत्यु भयो। संक्रमितको संख्या र मृत्युदर उकालो लाग्ने क्रम रोकिएको छैन। 

आन्तरिकतर्फ भने दैनिक करिब २ सय ५० वटा जहाजले उडान भर्ने गरेका छन्। यी उडानमार्फत हरेक दिन ११ हजार व्यक्तिको आवतजावत हुने गरेको विमानस्थल कार्यालयको तथ्यांक छ। 

विमानस्थल कार्यालयका अनुसार चैतको तुलनामा वैशाखमा उडान संख्या बढेको छ। उडान बढेपछि आवतजावत गर्नेको संख्या बढ्नु स्वाभाविकै हुन्छ। दुई महिनाअघिसम्म दैनिक ३५–३६ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा हाल दैनिक ४० वटा उडान हुने गरेका छन्। 

आन्तरिकतर्फ २२०–२३० वटा उडान हुने गरेकोमा हाल दैनिक २५० वटासम्म उडान हुने गरेको प्रमुख तिवारीले जानकारी दिए।  अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण अनिवार्य गरिए पनि आन्तरिकतर्फ अनिवार्य छैन। त्यसैले जोखिम बढेको विमानस्थल प्रमुख तिवारी बताउँछन्। उनी भन्छन्, ‘भारतबाट नेपालगन्ज, धनगढीसम्म सडकमार्गबाट आएका व्यक्तिहरु विना पीसीआर परीक्षण काठमाडौंसम्म आउने र अन्य जिल्लासम्म गइरहेका छन्।’ यस्ता व्यक्तिबाट अझै खतरा बढेको उनको भनाइ छ। 

अप्रिल १ तारिखदेखि २५ तारिखसम्म भारतबाट अन्तर्राष्ट्रिय उडानबाट ५ हजार ७ सय भारतीय नेपाल आएका छन्। 
विमानस्थल कार्यालयसँग आन्तरिक उडानबाट कति मानिस राजधानीसम्म आए र ती कहाँकहाँ गए भन्ने अभिलेख छैन। तिवारी भन्छन्, ‘उनीहरुले ठूलो जोखिम निम्त्याएका छन् नै। एक ठाउँबाट अर्को ठाउँमा पनि सहजै कोरोना फैलिन खतरा उच्च भएको छ।’ 

नेपालमा दैनिक तीन हजारभन्दा धेरै कोरोना संक्रमित थपिरहेका छन्। दैनिक २०–२५ जनाले कोरोनाकै कारण ज्यान गुमाइरहेका छन्। बढ्दो संक्रमण र विमानस्थलमा बढेको भीडले थप खतरा बढाएको विमानस्थल प्रमुख तिवारी बताउँछन्। उनी भन्छन्, ‘यस्तो अवस्थामा पनि अझै उडान नरोकिँदा यसले जोखिम बढाएको छ। हामी आफैंले असुरक्षित महसुस गर्न थालेका छौं।’


प्रकाशित: Apr 27, 2021| 00:30 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।