काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई गम्भीर भएर कोरोना संकट समाधानमा लाग्न आग्रह गरेका छन् ।
उनले परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हरसम्भव उपायहरु गर्न देउवाले सरकारसँग माग गरेका हुन् । सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति देउवाले भनेका छन्, ‘यस अवस्थामा परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हरसम्भव उपायहरु गर्न म सरकारसँग माग गर्दछु । साथै संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकार गम्भीर हुन माग गर्दछु।’
देउवाले कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको बताउँदै यसतर्फ सरकार समयमै गम्भीर नहुनाले खोपको समूचित व्यवस्थाप हुन नसकेको टिप्पणी गरेका छन् ।
‘मित्रराष्ट्र भारतबाट सुरुमै दश लाख डोज निःशुल्क खोप प्राप्त भएको कारण ठूलो राहत महसुस भएको थियो । पछि चीनबाट पनि खोप निशुल्क प्राप्त भई वितरण हुँदैछ’, उनले अगाडि भनेका छन्, ‘यस सहयोगका लागि दुवै मित्रराष्ट्रहरुलाई धन्यवाद दिन चाहन्छु । देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न हामीलाई अझै ठूलो संख्यामा खोपको आवश्यकता छ । चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठाोस योजनासहित कुटनीतिक सक्रियता बढाउन पनि सरकारसँग माग गर्दछु।’
देउवाले विकसित देशहरुले खोप उत्पादकहरुसँग आ–आफ्नो देशका आवश्यकताभन्दा पनि बढी संख्यामा अग्रिम बुकिङ सुरक्षित गरेको भन्दै अग्रिम बुकिङ गर्न नसकेका नेपाल जस्ता देशहरुलाई बुकिङ भएको संख्यामध्येबाट खोप सुविधा उपलब्ध गराउन पनि उनले मित्रराष्ट्रहरुलाई अनुरोध गरेका छन् ।
देउवाले कोभिड–१९ बाट सुरक्षित हुन अनिवार्य मास्कलगायत सुरक्षा व्यवस्था र संक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुशरण गर्न पनि सम्पूर्ण नेपालीलाई अनुरोध गरेका छन्।
