काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्ना केही सेवा स्थगित गरिएको सूचना जारी गरेको छ।
विभागले सोमबार सूचना जारी गर्दै बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुनेबाहेक अन्य सेवा बन्द गरिएको सूचनामा उल्लेख गरेको छ।
विभागले सोमबारदेखि १९ वैशाखसम्मका लागि सेवा स्थगित गरिएको जानकारी गराएको छ।
विभागले व्यवसाय नवीकरण र फर्म दर्ता सेवा स्थगित गरेको प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए। ‘सीसीएमसी र जिल्ला प्रशासन कार्यालयको निर्णय कार्यान्वयन गरेका हौं,’ उनले भने, ‘बढी भीड नवीकरण र फर्म दर्तामा हुने भएकाले यी सेवा स्थगित गरेका हौं।’