काठमाडौं - सत्तारूढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका चारजना नेताले दायर गरेको रिट आज पनि पेसीमा चढेको छ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा ६ नम्बर पेसीमा चढेको हो।
आइतबार पनि ढुंगानाकै इजलासमा पेसी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो।
आजको पेसी सूचीमा नेपाल पक्षको मुद्दा अगाडि पाँचवटा अन्य बन्दी प्रत्यक्षीकरणसम्बन्धीका मुद्दाहरू छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत आफूहरूलाई कारबाही गरेको भन्दै सो समूहका चार नेताले सर्वोच्चमा रिट दायर गरेका थिए।
रिट निवेदकले निर्वाचन आयोग, अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाएका छन्।