शुक्रबार, भदौ १२, २०८३

किन लकडाउनमा जाेड दिँदैछन् जनस्वास्थ्यविद् ?

‘भारतबाट आएका नेपालीलाई व्यवस्थित नगर्ने र अन्तर्राष्ट्रिय उडान नरोक्ने हो भने अवस्था थप भयावह हुन सक्छ।’
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडाैं-  जनस्वास्थ्यविद्हरुले कोरोना भाइरस महामारीको जोखिम नियन्त्रण गर्न लकडाउन गर्नुको विकल्प नरहेको बताएका छन्। उनीहरू तत्काल लकडाउन नगरे स्थिति सम्हालिनै नसक्ने चेतावनी दिएका हुन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. अनुप बास्तोलाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तत्काल कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ । ‘चेन ब्रेक’ नगरी हामीले सम्हालिने मौका पाउने छैनौं।’ 

उनले अब अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएर आफू र अरूलाई जोखिममा नपार्न पनि आग्रह गरेका छन्। धुलिखेल अस्पतालका डा. विराजमान कर्माचार्यले सबैजना घरभित्र बस्नुको विकल्प नभएको बताएका छन्। 

स्वास्थ्य मन्त्रालयको आइतबारको पत्रकार सम्मेलनमा उनले भने, ‘अब सरकारले कहिले लकडाउन गर्छ भनेर कुर्ने अवस्था छैन।’ कोरोना रोकथामका लागि पहिलो नम्बरमा स्वघोषित लकडाउन र सामाजिक दूरी अत्यन्त जरुरी रहेको उनको भनाइ छ। 

लकडाउन गरेर के हुन्छ? पछि संक्रमित बढिहाल्छ नि भन्ने सोच्नु नहुने बताउँदै उनले भनेका छन्, ‘लकडाउन गर्दा चेनब्रेक हुन्छ। रोकथामका लागि सहज हुन्छ। लकडाउन नगरे रोकथाम गर्न कठिन हुन्छ।’

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे पनि अब लकडाउनको अर्को विकल्प नभएको बताउँछन्। समुदायमा पसेको संक्रमण घरघरमा पुग्नबाट रोक्न लकडाउन गर्ने पर्ने उनले बताएका छन्। उनी भन्छन्, ‘अस्पतालहरुले बिरामी थेग्नै नसक्ने अवस्था बनेका कारण लकडाउनको निर्णय गर्न सरकारले ढिलो गर्नु हुँदैन।’ 

संक्रमितको उपचारमा खटिएका डाक्टर र जनस्वास्थ्यविद्हरुले अवस्था खतरनाक बन्दै गएको बताए पनि सरकारले भने लकडाउनका विषयमा कुनै निर्णय लिएको छैन। 

बाँके, सुर्खेतसहित केही जिल्लामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा लकडाउन गरिएको छ।काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन अधिकारीहरुले आफ्नो कार्यालयको अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय लिएका छन्। 

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकार तत्काल लकडाउन पूर्ण रुपमा लकडाउन गर्ने तयारीमा नरहेको बताएका छन्।
‘बल्लतल्ल तंग्रिएको अर्थतन्त्र बिग्रिने गरी पूर्ण रुपमा सबै ठाउँमा लकडाउन गर्ने सोचमा सरकार छैन’, उनले भनेका छन्। 

सरकारले अन्तर्राष्ट्रिय उडान र सीमासमेत व्यवस्थित गर्न नसकेकोमा जनस्वास्थ्यविद्हरुले असन्तुष्टि जनाएका छन्। डा. बाबुराम मरासिनी सीमा व्यवस्थित गर्न नसक्दाको परिणाम बाँकेमा स्थिति भयावह बनेको बताउँछन्।  उनी भन्छन्, ‘भारतबाट आएका नेपालीलाई व्यवस्थित नगर्ने र अन्तर्राष्ट्रिय उडान नरोक्ने हो भने अवस्था थप भयावह हुन सक्छ।’ 

पछिल्लो एक महिनायता हरेक दिन स्थलमार्गबाट दैनिक हजारौं नेपाली स्वदेश फर्किरहेका छन्। तर, उनीहरुलाई सीमा क्षेत्रमै कोरोना परीक्षण गर्ने र संक्रमित भए आइसोलेट गर्ने, नभए निश्चित दिन क्वारेन्टिनमा राख्ने काम सरकारले गर्न सकेको छैन। 

छिमेकी भारतमा अहिले दैनिक साढे तीन लाख व्यक्ति कोरोना संक्रमित थपिइरहेका छन्। २५ सयदेखि तीन हजारको हरेक २४ घण्टामा कोरानाकै कारण मृत्यु भइरहेको छ। 

प्रकाशित: Apr 26, 2021| 06:03 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।