काठमाडौं - कर्णाली प्रदेशसभाको सातौं अर्थात हिउँदे अधिवेशनको तेस्रो बैठक सोमबार बस्दैछ। बैठक सोमबार दिउँसो दुई बजे बस्ने भएको हो।
बैठकमा यसअघि प्रदेश सरकारले जारी गरेका केही अध्यादेशका विषयमा छलफल हुने र प्रदेशसभा सदस्यहरूलाई निष्कासन गरिएको सूचना सुनाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभा बैठकमा यसअघि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट जारी भएका प्रदेश लोकसेवा आयोग कार्यविधि र प्रशासकीय कार्यविधि नियमित गर्नेसम्बन्धी अध्यादेशबारे छलफल हुने छ।
गत बैठकमा नेकपा माओवादी (केन्द्र) बाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार बचाउन ‘फ्लोर क्रस’ गरेका नेकपा एमालेका तत्कालिन सांसदहरुलाई निष्कासन गरिएको सूचना पनि सुनाइने छ।
आइतबार एमालेले प्रदेशसभामा ‘फ्लोर क्रस’ गरी नेकपा माओवादी (केन्द्र) को पक्षमा मतदान गरेका चारजना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा दर्ता भएको थियो।