काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलाेपटक खेल सुपर ओभरमा पुगेकाे छ।
दिल्ली क्यापिटल र सनराइजर्स हैदराबादले समान १५९ रन बनाएपछि आइतबार रातिकाे खेल सुपर ओभरमा लम्बिएको थियो।
सुपर ओभरमा निर्धारित लक्ष्य पूरा गर्दै दिल्ली क्यापिटलले जित निकाल्याे। पहिले ब्याटिङ गर्दै हैदराबादले सात रन बनाएको थियो। जबाफी ब्याटिङमा दिल्लीले आठ रन बनाउँदै जित निकाल्यो। सुपर ओभरमा दुवै टिमले कुनै विकेट गुमाएनन्।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले चार विकेटको क्षतिमा १५९ रन बनाएको थियो। जहाँ पृथ्वी शले ५३, शिखर धवनले २८, ऋषभ पन्तले ३७ र स्टिभ स्मिथले ३४ रन बनाए।
हैदराबादको राशिद खानले एक र सिद्धार्थ कौलले दुई विकेट गिराए।
जबाफी ब्याटिङमा हैदराबादले सात विकेटको क्षतिमा १५९ रन नै बनायो। जहाँ केन विलियम्सनले ६६, जोन्नी बेरिस्टोले ३८ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
दिल्लीका अभेष खान, अक्षर पटेल र अमित मिश्राले क्रमशः ३, २ र १ विकेट गिराए। यससँगै आईपीएलमा दिल्ली क्यापिटलले पाँच खेलबाट आठ अंक जोडेको छ।
आठ अंक जोड्नेमा आरसीबी र चेन्नई पनि छन्। पराजित हैदराबाद भने दुई अंकका साथ पुछारबाट दोस्रो स्थानमा छन्।