काठमाडौं – टोनेनहम हट्सपरलाई हराउँँदै म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग (ईएफएल) कपको उपाधि जितेको छ। वेम्बले रंगशालामा भएको फाइनल खेलमा अधिक समय बलमा पकड बनाएको सिटीले १–० गोलअन्तरको जित निकालेको हो।
काराबाओ ईएफएल कपमा यो सिटीको लगातार चौथो उपाधि पनि हो। यससँगै सिटीले लिभरपुलले बनाएको रेकर्डसँग बराबरी गरेको छ। १९८० को दशकको सुरुमा लिभरपुलले लगातार चार उपाधि जितेको थियो।
गएरातिको खेलमा गोलका लागि संघर्ष गर्दै २१ प्रहार गरेको सिटीका १७ प्रहार पोस्टबाहिर गए पनि बाँकी प्रहार सही ठाउँमा परेका थिए। तर, सबै प्रहार गोलमा परिणत हुन सकेनन्।
यता टोटेनहमले भने खेल अवधिभर दुई मात्र प्रहार गर्न सक्यो। जसमा एक प्रहारले पोस्टको गति दिशा लियो तर स्कोर हुन सकेन।
फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि ८२ औं मिनेटमा सिटीका आमेरिक लापोर्ताले गोल गर्दै सिटीलाई उपाधि दिलाए।
यता प्रिमियर लिगको पनि उपाधि नजिक पुगिसकेको सिटीको जारी सिजनमा यो पहिलो उपाधि हो। ऊ यसअघि नै एफए कपबाट भने बाहिरिसकेको छ।