आइतबार, असोज ११, २०८३

कालीमाटीमा छुट्याइएका स्टलमा आउन थाले किसान

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले  गत चैत १८ देखि किसानका लागि छुट्टै स्टलको व्यवस्था गरेको थियो। त्यसको केही समयसम्म स्टलमा किसान आएका थिएनन्।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले गत चैत १८ देखि किसानका लागि छुट्टै स्टलको व्यवस्था गरेको थियो। त्यसको केही समयसम्म स्टलमा किसान आएका थिएनन्। तर, पछिल्लो समम ती स्टलमा किसानहरूको बाक्लो उपस्थिति हुन थालेको छ। किसानका लागि १२ वटा स्टल छुट्याइएकोमा हाल दैनिक आठवटासम्म स्टलमा किसानले आफ्ना उत्पादन राखेर बिक्री वितरण गर्न थालिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले किसानहरूका बाक्लो उपस्थिति हुन थालेको जानकारी दिए। ‘सुरुका केही दिन आएनन्,’ भट्टराईले भने, ‘अहिले दैनिक सात आठवटा स्टलबाट किसानका उत्पादन बिक्री हुन थालेका छन्।’

यसअघि समितिले गत चैत १८ देखि किसानका लागि छुट्टै स्टलको व्यवस्था गर्दै किसानले मूल्य नपाएमा कालीमाटीमा ल्याएर बिक्री गर्न सक्ने व्यवस्था गरेको थियो।

स्टलमा ल्याएर तरकारी तथा फलफूल बिक्री वितरण गरेमा विगतमा जस्ताे तरकारी बारीमै डोजर लाउने अवस्थाको अन्त्य हुने विश्वास समितिले गरेको छ।

विगतमा चितवनलगायतका विभिन्न ठाउँमा किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउँदा बारीमै डोजर चलाएर तरकारी नष्ट गरेका दृष्टान्तहरू छन्। त्यस्ता घटनाहरूलाई मध्यनजर गर्दै सरकारले किसान आफैंले कालीमाटी स्टलबाट बिक्री गर्न सक्ने व्यवस्था गरेको हो।

हाल कालीमाटीमा किसानका लागि छुट्याइएका स्टलमा दैनिक ११ वटा स्टलसम्म पनि हुने गरेको समितिका प्रवक्ता विनय श्रेष्ठ बताउँछन्। ‘पछिल्लो समय दैनिक ७ देखि ८ वटा स्टल आउने गरेका छन्,’ श्रेष्ठले भने, ‘एकदिन ११ वटा स्टलबाटै समेत कारोबार भएको थियो।’

कालीमाटीमा स्टल राख्ने किसानले समितिलाई प्रतिकिलोग्राम २० पैसाका दरले समितिलाई भाडा तिुर्नपर्ने प्रावधान समितिले राखेको छ। त्यसबाहेक अन्य शुल्क नलाग्ने भएकाले किसानले उत्पादन गरेका वस्तुको उत्पादन उठ्ने गरी बिक्री पाउने विश्वास समितिले लिएको छ।

किसानले आफूले उत्पादन गरेका बन्दा, मुला, काउली, गोलभेंडालगायतका तरकारी राखेर बिक्री गर्न पाउने छन्। ‘अहिले किसानले सिजनल तरकारी ल्याएर बिक्री वितरण गरिरहेका छन्,’ श्रेष्ठले भने।

स्टलमा किसानले पहिलो प्राथमिकतामा कालीमाटी तथा बल्खु तरकारी बजारका थोक बिक्रेतालाई बिक्री गर्न पाउने व्यवस्था गरिएको छ। थोक बिक्रेताले उचित मूल्यमा किनेनन् भने मात्रै खुद्रा बिक्रेता र उपभोक्तालाई प्राथमिकता दिनुपर्ने प्रावधान समितिको छ।

समितिले किसानका उत्पादन बिक्री वितरणका लागि २१ घण्टासम्म स्टलमा राख्न पाउने व्यवस्था गरिएको छ। सो अनुसार साँझ ७ बजेदेखि भोलिपल्ट बेलुका ४ बजेसम्म किसानले आफ्नो उत्पादन स्टलबाट बिक्री गर्न पाउने छन्।

अहिले भक्तपुर, धादिङ, नुवाकोटका किसानले स्टलबाट तरकारी बिक्री गरेकाे प्रवक्ता श्रेष्ठ बताउँछन्। ‘भक्तपुरका किसानले बन्दा, काउली, ब्रोकाउलीलगायतका तरकारी ल्याइराखेका छन्,’ उनी भन्छन्, ‘चितवनतिरकाले बन्दा, करेला यस्तै-यस्तै सिजनल तरकारी ल्याएर बिक्री गरिरहेका छन्।’

कालीमाटीबाट अहिले किसानले प्रतिस्टल दुई टन हाराहारीका दरले तरकारी बिक्री गरिराखेकाे प्रवक्ता श्रेष्ठको भनाइ छ।  दुई टन तरकारी बिक्री गर्दा समितिलाई ४०० रूपैयाँ तिर्ने गरेका छन्।

प्रकाशित: Apr 26, 2021| 00:32 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्