काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले ७ लाखसम्मको आयकर छुट दिन सरकारसँग माग गरेको छ। आगामी बजेटका सन्दर्भमा महासंघले सुझाव दिँदै यस्तो माग गरेको हो।
दम्पतीका हकमा भने ८ लाखसम्मको आम्दानीमा आयकर छुट दिन महासंघको माग छ। हाल व्यक्तिगत आयकर छुटको सीमा ४ लाख र दम्पत्तिका हकमा ४ लाख ५० हजार रुपैयाँ छ।
पछिल्लो समयमा व्यापक मूल्यवृद्धि भएकोले मासिक ३७ हजार ५०० रुपैयाँले घरखर्च धान्न कठिन हुने भएकोले आयकरको सिलिङ बढाउनुपर्ने महासंघको माग छ। त्यस्तै आयकरको वर्तमान स्ल्याब न्यूनीकरण गरी ५, १५, २५ प्रतिशत कायम गर्नसमेत महासंघको सुझाव छ।
बैंक तथा वित्तीय क्षेत्रमा कायम रहेको ३० प्रतिशत करको दरलाई घटाउनुपर्ने, प्रोप्राइटरसिप फर्मलाई सरचार्ज नलाग्ने, कार्गो व्यवसायमा लाग्दै आएको टीडीएस हटाउनुपर्ने, नेपाल मध्यम आय भएको मुलुकमा स्तारोन्नति हुने निर्णयसँगै सरकारले स्तरोन्नतिपछिको १२ वर्षसम्म पनि सुविधा पाउने गरी विश्व व्यापार संगठनमा पैरवी गर्ने गरी नीति निर्माण गर्नुपर्नेलगायतका सुझाव महासंघले सरकारलाई दिएको छ।
महासंघको टोलीले आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी सुझाव पेस गरेको हो।