काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल ठूलो आकारका २० हजार अक्सिजन सिलिन्डर खरिद गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमणपछि आईसीयू र भेन्टिलेटरको सहयोगमा उपचार गर्नुपर्ने बिरामीको संख्या बढेसँगै मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले अक्सिजन सिलिन्डर किन्ने निर्णय गरेको हो।
यसैगरी २५, ५०, १०० र २०० बेड भएका अस्पतालले क्रमशः २०, ५०, १०० र २०० वटा ठूलो आकारका सिलिन्डर खरिद गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ। खरिद गरिएका सिलिन्डरको अधिकतम २० हजार रुपैयाँ प्रतिसिलिन्डर शोधधर्ना मन्त्रालयले दिनेछ।
दुई सयभन्दा बढी बेड भएका शिक्षण अस्पताल र अन्य अस्पतालसँग कोरोना संक्रमितको उपचार गर्ने गरी स्वास्थ्य मन्त्रालयले सम्झौता गर्ने भएको छ। यसैगरी स्थानीय तहमा रहेका १५ बेडसम्मका अस्पतालसँग स्थानीय तह र दुई सय बेडसम्मका अस्पतालसँग सम्झौता गरी संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
यसैबीच, संक्रमण दर बढ्दै गएपछि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरमा ५ सय र गाउँमा दुई सयसम्म सक्रिय संक्रमित देखिएमा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको छ।