धनगढी- पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर उच्च छ। कोरोनाको दोस्रो लहरसँगै लक्षण भएका कोरोना संक्रमित थपिन थालेपछि सीमासँग जोडिएका प्रदेशका दुई अस्पताल संक्रमितले भरिएका छन्।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। ५५ शय्याको कोरोना अस्पताल बिरामीले भरिएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अस्पतालमा ३ जना भेन्टिलेटरमा, ११ जना आईसीयूमा, १६ जना मोडरेट र २५ जनालाई अक्सिजन सपोर्टमा राखिएको छ। २० आईसीयू र १० वटा भेन्टिलेटर रहेकोमा कोरोना संक्रमितका लागि १० आईसीयू र ५ भेन्टिलेटर छुट्याइएको अस्पतालले जनाएको छ।
उता, कञ्चनपुरको महाकाली अस्पतालको अस्थायी कोरोना अस्पतालमा ४८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ६ जनाको आईसीयू र १ जनाको भेन्टिलेटर तथा १२ जनालाई अक्सिजनको सहायताले उपचार गरिरहेको अस्पतालका व्यवस्थापक दीपेन्द्रसिंह रावलले बताए। उनले अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ५० शय्या आइसोलेसन तथा १८ शय्या आपतकालका लागि छुट्याएको बताए। अस्पतालमा ६ भेन्टिलेटर र ६ शय्या आईसीयू बेड रहेको उनले बताए।
कोरोनाका लक्षणसहितका सक्रिय संक्रमितले अस्पताल भरिएपछि सामाजिक मन्त्रालयले विकल्प खोज्न थालेको छ। प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले आज धनगढीका निजी अस्पतालका सञ्चालकसँग छलफल गर्दै एउटा कोभिड डेटिकेटेड अस्पताल छुट्याउन आग्रह गरेका छन्। उनले कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने गरी एउटा अस्पताल छुट्याउन आग्रह गरे।
मन्त्री सुवेदीले धनगढीको राजपुरमा निर्माणाधीन प्रादेशिक चिकित्सालयको भवन तत्कालन निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले तत्काल निर्माण सम्पन्न भएसँगै ५०० बेडसहितको कोरोना उपचार अस्पताल बनाउने बताए।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेशमा रहेका सामुदायिक अस्पताललाई कोभिडका बिरामीको उपचारका लागि प्रकृया अगाडि बढाएको बताए। उनले कोभिडका बिरामीको उपचारको लागि स्थान, जनशक्ति, उपकरणलगायतको व्यवस्थापनमा प्रदेश सरकार जुटेको बताए।