विराटनगर- गत चैत २० अघि प्रदेश १ मा कोरोना संक्रमणको अवस्था सामान्य थियो। सरकारसँग पहिलो चरणका समयमा तयार गरिएका संरचना थिए। तर, सरकारले यसलाई प्राथमिकता दिएन।
पछिल्ला २० दिनमा कोरोना संक्रमण ह्वात्तै बढ्यो। सरकारले थेग्न नसक्ने अवस्थामा पुग्न लागेको छ। सीमावर्ती क्षेत्रमा दैनिक आवतजावत बढ्दा संक्रमण तीव्र रुपमा फैलिएको छ। प्रहरी, प्रशासनले सीमामा नियन्त्रण भएको दाबी गरे पनि मुख्य नाकाबाहेकका चोर बाटो प्रयोग गर्दै दैनिक विराटनगरबाट मात्रै सयौंको संख्यामा ओहोरदोहोर भइरहेको छ।
मुख्यतः प्रदेश १ मा बढी संक्रमण विराटनगरमा छ। विराटनगरपछि धरान, इटहरी, दमकमा संक्रमण देखिएको छ। प्रदेश १ का मुख्य चारवटा सहरबाहेकका स्थानमा अहिले पनि छिटफुट संख्यामा मात्रै कोरोना छ।
पहाडी क्षेत्र र ग्रामीण भेगमा रहेका स्थानीय तहहरुले अहिले पनि सचेतना अपनाउन सके केही नियन्त्रण हुने देखिन्छ। अहिलेसम्म प्रदेश सरकार र स्थानीय तहको तयारी अपेक्षित रुपमा हुन सकेको छैन। जसले संक्रमण समुदायमा तीव्र रुपमा फैलिएको छ। दैनिक संक्रमित बढ्दो मात्रामा छन्।
संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन। पीसीआर परीक्षणको दायरा पनि बढ्न सकेको छैन। अहिले पनि ६ सयको हाराहारीमा मात्र पीसीआर परीक्षण हुँदै आएको छ। प्रदेश १ मा मात्र एक दर्जनको हाराहारीमा पीसीआर मेसिन छन्।
महानगर भर्खर तयारी गर्दै
विराटनगरमा अहिले करिब ४ सयको संख्यामा कोरोनाका सक्रिय संक्रमित छन्। महानगरपालिका भर्खर मात्र कोरोना नियन्त्रणमा जुट्दैछ। महानगरपालिकास्तरीय सीसीएमसीको बैठकले महानगरभित्र सञ्चालित अस्पतालहरुले २० प्रतिशत बेड कोभिडका बिरामीका लागि छुट्याउनुपर्ने निर्णय गरेको छ।
महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले आधारभूत स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र र रानी नाकामा एन्टिजेन परीक्षण र स्वाव संकलन गरिने बताए। होम क्वारेन्टिन, होम आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ, फिभर क्लिनिक सञ्चालन गरिने उनले बताए। विराटनगरबाहेक सीमावर्ती क्षेत्रका स्थानीय तहले कुनै पनि तयारी गरेका छैनन्।
अधिकांश संक्रमित होम आइसोलेसनमा
प्रदेश १ मा आइतबार सक्रिय संक्रमितको संख्या १ हजार १० छ। सक्रिय संक्रमितमध्ये ९३९ जना होम आइसोलेसनमा छन्। अस्पताल भर्ना भएकाको संख्या ७१ छ। ७१ मध्ये कोशी कोभिड अस्पतालमा ३०, विराट मेडिकल कलेजमा २५, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १४ र मेची अस्पताल झापामा २ जना उपचाररत छन्।
उपचाररतमध्ये १४ जना आईसीयूमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आइतबार साँझसम्म भेन्टिलेटरमा कुनै पनि बिरामी छैनन्। संक्रमितहरु अस्पतालमा भन्दा घरमै सुरक्षित भएको महसुस गर्दछन्। विराटनगरका एक संक्रमितले भने, ‘अस्पतालमा चिकित्सकको अभाव भएको सुनेको छु, यस्तो अवस्थामा कहाँ कोभिड अस्पताल जानु।’ प्रदेश सरकारले भने कोभिड अस्पतालमा चिकित्सकको अभाव नभएको दाबी गरेको छ। सामाजिक विकासमन्त्री उषाकला राईले अपुग चिकित्सकको तुरुन्त व्यवस्थापनका लागि निर्देशन दिएको बताइन्।
सरकारको तयारी देखिएन
पहिलोपटक संक्रमण फैलिँदा प्रदेश सरकारले तयार गरेका संरचनाहरू पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन्। दक्ष जनशक्तिको नियुक्तिमा पनि सरकारको ध्यान नपुगेको पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे बताउँछन्। उनी भन्छन्, ‘यन्त्र उपकरण अपुग भए तुरुन्त सरकारले आपूर्ति गराउनुपर्छ।’ पहिलो चरणमा प्रदेश १ का सवै जिल्लामा आइसोलेसन, क्वारेन्टिन स्थापना भएका थिए। ती सबैलाई सकारले पुनः तयारी अवस्थामा राखेर सञ्चालनमा ल्याउनुपर्ने घिमिरेको भनाइ छ।
दोस्रो चरणको कोरोना संक्रमण झन् धेरै जोखिमपूर्ण अवस्थामा देखापरेको जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बाले बताए। भारतको संक्रमण र नेपालको संक्रमण उस्तै अवस्थामा रहेको उनले बताए। नेपालमा जनसंख्या थोरै भएकोले मात्र कम देखिएको डा. सुब्बाको भनाइ छ।
दोस्रो चरणको कोरोनाले विकराल रूप लिने विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की बताउँछन्। सरकारले अझै निजी क्षेत्रसँग सहकार्य गर्न नचाहेको उनले बताए। सरकारले निजी क्षेत्रसँग समन्वय गर्न नचाहे पनि आफै कोभिड उपचार सुरु गर्ने तयारीमा रहेको डा. कार्कीले बताए।
स्थानीय प्रशासन भने कोरोना नियन्त्रणका लागि आफूहरुले काम गरिरहेको दाबी गर्छ। स्वास्थ्य मापदण्ड पालना गराउने, सीमामा आवातजावतमा कडाई गर्ने, बजार अनुगमन गर्नेलगायतका काम भइरहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए। उनले राति ८ बजेदेखि बजार बन्द गराउने, विद्यालय बन्द भइसकेको बताए।