शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रश्नपत्र ‘आउट’ गर्न विश्वविद्यालयका कर्मचारी नै संलग्न, १० जना पक्राउ

प्रश्नपत्र ‘आउट’ गर्न विश्वविद्यालयका कर्मचारी नै संलग्न, १० जना पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक भएको घटनामा संलग्न विश्वविद्यालयका कर्मचारीसहित १० जना पक्राउ परेका छन्। पक्राउ परेका सबैलाई मोरङ प्रहरीले आइतबार सार्वजनिक गरेको छ।
 |  आइतबार, वैशाख १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १२, २०७८

विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक भएको घटनामा संलग्न विश्वविद्यालयका कर्मचारीसहित १० जना पक्राउ परेका छन्। पक्राउ परेका सबैलाई मोरङ प्रहरीले आइतबार सार्वजनिक गरेको छ।

इन्जिनियरिङ संकायको स्नातक (बीई) दोस्रो सेमेस्टर भौतिकशास्त्र विषयको प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि नै बाहिरिएको पत्ता लागेको थियो। यसको अनुसन्धान मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले गरेका थिए। 

घटनामा संलग्न विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहायक विराटनगर महानगरपालिका–८ का ४४ वर्षीय कोमलप्रसाद गौतम, संखुवासभाको मादी नगरपालिका–६ घर भएका ३५ वर्षीय गोपाल कार्की, रुपन्देही तिलोचन नगरपालिका–१२ का ३० वर्षीय विजय पोखरेल, गोर्खाको भीमसेनथापा गाउँपालिका–१ का ३२ वर्षीय मीनप्रसाद भट्ट र गोर्खाकै गण्डगी गाउँपालिका–३ का ३२ वर्षीय भरत पन्त पक्राउ परेका छन्। 

त्यस्तै गोर्खा नगरपालिका–४ का २६ वर्षीय विकाश खड्का, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–४ का २८ वर्षीय निर्मल खड्का, महोत्तरीको रामगोपालपुर नगरपालिका–९ का २९ वर्षीय नानीपथ मण्डल, सप्तरीको वोदेवरसाइन नगरपालिका–७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीकै कृष्णसवरण गाउँपालिका–५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

एसपी खड्काका अनुसार विश्वविद्यालयका कर्मचारी गौतमसँग व्यक्तिगत सम्पर्कमा आधारमा ‘सेटिङ’ मिलाउँदै प्रश्नपत्र परीक्षा अगाडि नै बाहिर ल्याउन कार्की सफल भएको पाइएको छ। विश्वविद्यालयका कर्मचारी गौतम र महेश यादव विराटनगरबाटै पक्राउ परेका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जिल मुकारुङका अनुसार अरु आठ जनालाई काठमाडौंबाट पक्राउ गरेर गयराति विराटनगर ल्याइएको हो। 

यादवलाई भने वैशाख ८ गते नै विराटनगरबाट नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको मुकारुङले बताए। गत वैशाख ३ गते परीक्षा हुनुभन्दा दुई घण्टाअगाडि प्रश्नपत्र बाहिरिएको पत्ता लागेको थियो। 

विश्वविद्यालयले उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। प्रश्नपत्र विश्वविद्यालयको फोटोकपि शाखाबाट बाहिरिएको खुलेको डीएसपी मुकारुङले बताए। ८० हजार रुपैयाँ दिने सर्तमा विश्वविद्यालयका कर्मचारी गौतमबाट दुई दिनअघि नै सामाजिक सञ्जालको प्रयोग गरेर प्रश्नपत्र बाहिर ल्याउन कार्की सफल भएको प्रहरीको भनाइ छ। 

उनीहरुविरुद्ध प्रहरीले शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका प्रमुख प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार दिउँसो १ बजेदेखि सञ्चालन हुनुपर्ने परीक्षाको प्रश्नपत्र बाहिरिएको कुरा बिहान ११ बजे मात्रै थाहा भएको थियो। 

उनका अनुसार तत्काल अर्को प्रश्नपत्र तयार पारेर परीक्षा भने सञ्चालन गरियो। यस्ता घटना विगतमा पनि भएको हुनसक्ने बताउँदै एसपी खड्काले अहिले भने विराटनगरबाट बाहिरिएको प्रश्नपत्र काठमाडौं र विभिन्न स्थानबाट परीक्षा दिने तयारीमा रहेका परीक्षार्थीको हातमा पुगेको जानकारी दिए। 

प्रकाशित: Apr 25, 2021| 12:51 आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।