बुटवल- लुम्बिनी प्रदेशका दुई जिल्ला बाँके र रुपन्देही कोरोनाको दोस्रो लहरबाट निकै प्रभावित बनेका छन्। बाँकेमा २४ सय नजिक कोरोनाका सक्रिय बिरामी छन् भने रुपन्देहीमा ११ सयको नजिकमा सक्रिय संक्रमित छन्।
प्रदेश स्वास्थ्य दिर्नेशनालयका अनुसार बाँकेमा मात्रै २२६ जना बिरामी आइसोलेसनमा उपचारत छन्। रुपन्देहीमा ६९ जना आइसोलेशनमा छन्।
दैनिक रुपमा कोरोना संक्रमित थपिने क्रम जारी भएपछि बाँके र रुपन्देहीमा प्रशासनले निषेधआज्ञादेखि शैक्षिक क्षेत्र बजार बन्द गर्ने सूचना जारी गरेका छन्।
बाँकेको नेपलगञ्ज उप-महानगरपालिका कोरोनाको हटस्पट बनेको छ। जहाँ प्रशासन र स्थानीय तहले भिडभाड तथा आवातजावतलाई निषेध गरेका छन्।
शनिबार राति मात्रै ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि बाँकेमा थप जटिलता देखा परेको छ।
भारतसँग सीमा जोडिएका प्रदेशका जिल्लाहरू बढि नै प्रभावित बनेका छन्। भारतमा कोरोना संक्रमण महामारीको रुपमा फैलिएपछि भारत गएका नेपालीहरू घर फर्कदा जोखिम बढेको हो। प्रदेशका सीमामा कडा निगरानी गरिएको प्रशासनले जनाएको छ। तर सीमामा भने अझै पनि निगरानी फितलो भएको गुनासो आइरहेको छ।
रुपन्देहीमा भिड नियन्त्रण गर्न जोरबिजोर
कोभिड संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले भिड नियन्त्रण गर्ने प्रयास थालेको छ। वैशाख १४ गतेदेखि लागु हुने गरी सार्वजनिक तथा निजी सवारीलाइ जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन र बिजोर गते बिजोर नम्बर भएका यातायातका साधनहरु सञ्चालन हुने छन्।
आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्मा बसेको सुरक्षा पदाधिकारी तथा स्थानीय तहका प्रमुख/अध्यक्ष एवम् प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो।
प्रशासनले सबै स्थानीय तहका शिक्षण संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको प्रजिअ तामाङले बताए। बैठकले शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाइको सट्टा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइको व्यवस्था गर्न भनेको छ।
रुपन्देहीमा पूर्व निर्धारित परीक्षाहरुसमेत हाललाई स्थगन गर्न बैठकले निर्णय गरेको छ। सबै स्थानीय तहका अध्यक्ष, प्रमुख एवम् प्रतिनिधिहरुले कोरोनासम्बन्धी जनचेतनामूलक कार्यक्रम वडा र टोलस्तरमा गर्ने प्रतिबद्धता जनाएका छन्।
यस्तै बैठकले प्रत्येक पालिकामा कम्तीमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्नसमेत निर्देशन गरेको छ। अहिले रहेका सामुदायिक आइसोलेसन र होम क्वारेन्टिनहरुको क्षमता विकास गरी पूर्व तयारी अवस्थामा रहनसमेत बैठकले आग्रह गरेको छ।
बैठकमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, रुपन्देही प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान आयोगका रुपन्देही प्रमुखका साथै जिल्लाका १६ वटा स्थानीय तहका अध्यक्ष, प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति थियो।