गत जुलाईमा मुम्बई अस्पतालमा डायबिटिजका डाक्टर राहुल बख्शी कोभिड वार्डको राउन्डमा थिए। एउटा कोठामा सेतो पीपीई लगाएका एक स्टाफ टेबल फ्यानको अगाडि बसिरहेका थिए।
उनी सायद कोरोना संक्रमितको वार्डमा आफ्नो आठ घण्टाको सिफ्ट पूरा गरेपछि सुस्ताइरहेका थिए। कोराना संक्रमितको उपचारमा दिइने स्टोरायड्सका कारण बिरामीको सुगरको स्तर बढ्ने गर्छ। सोही कारण डाक्टर बख्शीजस्ता स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ।
कोभिड वार्डको राउन्डको समयमा सामान्यतया डाक्टर आफ्नो फोन साथमा राख्दैनन्। सोही कारण बख्शीले नर्सिङ स्टेसनका एक जुनियर डाक्टरको फोन मागेर ल्याए र पंखाको सामुन्ने बसेका स्टाफको तस्बिर खिचे।
पीपीई अर्थात् पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको मतलब एन–९५ मास्क, सर्जिकल मास्क, गगल्स, फेस शिल्ड, गाउन र क्याप लगाउनु हो। पीपीई किट लगाएर न तपाईंले खाना खान सक्नुहुन्छ, न पानी पिउन सक्नुहुन्छ। न वासरुम जान सक्नुहुन्छ न त कुनै सहयोग लिन सक्नुहुन्छ।
सोच्नुहोस् त यदि तपाईंले महिनौं यस्तो खतराका बीचमा काम गर्नुपर्यो भने हालत कस्तो हुन्छ ?
पीपीई लगाउँदाको डर
आफ्नो इन्स्टाग्राम एकाउन्टमा डा. बख्शीले यो तस्बिरको तल लेखेका छन्– पीपीई लगाएको आधा घण्टापछि तपाईं पसिनै पसिना भइहाल्नु हुन्छ। किनकी तपाईं तलदेखि माथिसम्म प्याक हुनुहुन्छ।
उनले थपेका छन्– एक वार्डबाट अर्को वार्ड जाने डाक्टर, नर्स, वार्ड हेल्पर्स, ल्याब एसिस्टेन्ट, रेडियोलोजी स्टाफ, सफाइ कर्मचारी र अन्यका लागि धेरै समस्या हुन्छ। सय मिटरभन्दा धेरै हिँडेपछि थाकिन्छ र दुई फ्लोर भन्दा धेरै सिँढी चढ्दा सास फेर्न मुस्किल हुन्छ।
डाक्टर बख्शीका अनुसार पीपीई किट लगाएर पंखाको सामुन्ने बस्ने हो भने पंखा चलेको आवाज सुन्न सकिन्छ, तर हावा भने आउँदैन। बाहिर चाहे जतिसुकै तीव्र गतिमा हावा चलेको होस्, त्यसको अनुभव हुँदैन। यस्तो अवस्थामा काम गर्नेहरुको मानसिक अवस्था कस्तो होला ?
पछिल्लो १३ महिनामा कोरोना महामारीसँग जुध्न भारतका लाखौं डाक्टर, मेडिकल स्टाफले निकै चुनौतीपूर्ण परिस्थितिमा काम गरिरहेका छन्। मुम्बईकी रेजिडेन्ट डाक्टर भाग्यलक्ष्मी भन्छिन्, ‘कोभिडको यो दोस्रो लहरमा मलाई जिन्दगीमा पहिलो पटक धेरै समस्यामा परेका मानिसहरुलाई नाइँ भन्नु परिरहेको छ। मानिस भेन्टिलेटर, अक्सिजन बेडका लागि आइरहेका छन्। यस्तो मुस्किल समयमा पनि मैले मानिसहरुलाई नाइँ भन्नु परिरहेको छ। किनकी बेड भरिएका छन्। यो निकै निराशाजनक समय हो।’
डाक्टरको मृत्यु
आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म कोरोना महामारीबाट भारतमा १ लाख ८७ हजार मानिसको मृत्यु भइसकेको छ। भारतीय मेडिकल एसोसिएशनका प्रेसिडेन्ट प्रोफेसर डाक्टर जेए जयालालका अनुसार मृत्यु हुनेमध्ये ७८० जना डाक्टर छन्। कोरानाले कति नर्स र मेडिकल स्टाफको ज्यान लिएको छ, यसको तथ्यांक नै छैन।
पछिल्लो १३ महिनामा मेडिकल पेशासँग जोडिएका मानिस पारिवारिक समस्या, बढ्दो कामको दबाब, आफ्ना आसपासमा भइरहेको मृत्यु र अन्य कैयौं डरका बावजुद लगातार काम गरिरहेका छन्।
भाग्यशाली भन्छिन्, ‘हामी लामो समयदेखि तनावपूर्ण माहोलमा काम गरिरहेका छौं। हामी हतास भइरहेका छौं।’ भाग्यलक्ष्मीले धेरै पटक १० घण्टासम्म पीपीई लगाएर काम गर्नुपरेको छ।
निराशाजनक माहोल
कश्मीरको बारामुला अस्पतालमा कार्यरत बच्चाका डाक्टर सुहैल नायकका अनुसार यस्तो हालतमा काम गर्नु निकै मुश्किल हुने गर्छ। ‘तपाईंमाथि धेरै मानसिक दबाब हुन्छ। चारैतर्फ कोरोनै–कोरोना छ। मानिसहरु सास फेर्न सकिरहेका हुँदैनन्।’
मुम्बईका रेजिडेन्ट डाक्टर रोहित जोशीका अनुसार यस्तो हालतमा काम गर्नु निकै निराशाजनक हुन्छ। उनी भन्छन्, ‘कहिलेकाहिँ त काम गरौं कि छोडौ भनेजस्तो लाग्छ।’
वरिष्ठ डाक्टर र कन्सल्ट्यान्टको तुलनामा रेजिडेन्ट डाक्टर २४ घण्टे ड्युटीमा हुन्छन्। लगातार केही दिनसम्म १०–१० घण्टासम्म पीपीई लगाएर कोरोना संक्रमितको बीचमा काम गर्नुपर्ने हुन्छ। यति मात्रै होइन, चाहेर पनि मानिसहरुलाई सहयोग गर्ने अवस्था हुँदैन। राति कुनै पनि समयमा ड्युटी कल आउँछ, केही दिनसम्म निद्रा पूरा हुँदैन। बिहानदेखि साँझसम्म लगातार तनावपूर्ण वातावरणमा काम गर्नुपर्ने हुन्छ। स्वास्थ्य ठिक नहुँदा समेत काम गर्नुपर्ने, आफ्ना आसपासका मानिसहरुको लगातार मृत्यु हुँदा रोइरहेका आफन्तलाई देख्दा जोसुकैलाई पनि तनाव र थकान लाग्छ।
डाक्टर रोहित जोशी भन्छन्, ‘बिरामी धेरै छन्, स्टाफ निकै कम। एक डाक्टरले धेरै बिरामीलाई हेर्नुपर्छ। दुई–तीन बिरामीको हात बिग्रियो भने हैरानी थप बढ्छ।’ उनी थप्छन्, ‘हामीले धेरै बिरामी हेर्नुपर्छ। तर हामीसँग समय निकै कम हुन्छ। हामीले चाँडो काम गर्नुपर्ने हुन्छ। सोही कारण एक बिरामीलाई १५–२० मिनेटभन्दा धेरै समय दिन सकिँदैन।’
अस्पतालमा कोभिड संक्रमितको संख्या नै बढिरहेको मात्रै होइन, कोभिड नेगेटिभ मानिसहरुको राम्रो मेडिकल हेरचाह गर्नका लागि ननकोभिड वार्डमा पठाइन्छ। त्यहाँसमेत बिरामीको संख्या बढिरहेको छ।
यस्तो कहिलेसम्म ?
कोरोनाको दोस्रो लहर फैलिइरहेको छ। अक्सिजन र औषधी अभावमा मानिसहरुको मृत्यु भइरहेको छ। यस्तो बेला डाक्टरहरुले सोधिरहेका छन्– आखिर यस्तो कहिलेसम्म चल्छ ? बिहारको भागलपुरमा लामो समय आफ्नो परिवारभन्दा टाढा रहेर काम गरेकी एक महिला स्वास्थ्य कर्मचारी भन्छिन्, ‘यो संकट लामो समयसम्म चल्यो भने हामी हाम्रो परिवारसँग अलग रहन सक्दैनौं।’
मानिसले स्वास्थ्यकर्मीहरुको त्यागलाई सलाम गर्दै ताली बनाएका छन्। तर स्वास्थ्यकर्मी मानिसहरुलाई कोरोना भाइरस रोक्नका लागि योगदान दिन र सामाजिक दूरी कायम गर्दै मास्क लगाउन अनुरोध गर्छन््। जम्मुमा कार्यरत स्त्रीरोग विशेषज्ञ अमनदीप कौर आनन्द भन्छिन्, ‘पहिले हामी आफ्नो ज्यानको बाजी थापेर काम गर्थ्यौं। तर अहिले यो पटक हामी आफ्नो परिवारको पनि जीवन खतरामा पारिरहेका छौं।’
जम्मुको गान्धी नगरस्थित सरकारी अस्पतालमा काम गर्दै आएकी अमनदीपका माता–पिताको उमेर ६० वर्षभन्दा माथि छ। उनकी आमा डायबिटिजकी बिरामी छिन्, सोही कारण उनीहरुले अमनदीपसँग भेट्न छोडेका छन्।
गत अगस्टमा कोभिड संक्रमित गर्भवती महिलाको सर्जरीको समयमा अमनदीप आफैं कोभिड संक्रमित भएकी थिइन्। उनी भन्छिन्, ‘अगस्टमा मैले १० जना पोजेटिभ महिलाको अप्रेसन गरेकी थिएँ। उनीहरुका बच्चा नेगेटिभ थिए। त्यो बेला भगवानले हामीलाई साथ दिइरहेको आभाष भयो।’
त्यो बेला उनी कार्यरत अस्पतालमात्रै थियो, जहाँ कोभिड पोजेटिभ माानिसहरुको सर्जरी हुन्थ्यो। उनी हरेक सर्जरीपछि नुहाउँथिन् र पुनः सर्जरी गर्थिन्। मानिसहरु पुंछ, राजौरी, किश्तवाड, डोडाबाट अस्पताल आउँथे र अमनदीप दैनिक दुईदेखि तीनवटा सर्जरी गर्थिन्।
लकडाउनमा मध्यरातमा पनि ड्राइभ गरेर सर्जरी गर्न अस्पताल जान्थिन् उनी। ती दिनको माहोल, कामको दबाब, कामपछिको समयमा पनि सबैसँग दूरी कायम गरिराख्दा उनको सानो छोरामा नकारात्मक असर परेको थियो। पीपीई किट्स लगाएर काम गर्दा उनलाई चक्कर लागेको महसुस हुन्थ्यो। यस्तो हुँदा उनी थोरै समय बस्थिन् र पुनः काम गर्थिन्।
पीपीईसँग सावधानी
पीपीई लगाउँदा मानिस पसिनाले नै नुहाउने अवस्थामा पुग्छ।। यसको मतलब शरीरले नुन र पानी तीव्र गतिमा निकाल्छ। यस्तो अवस्थामा पीपीई लगाएको मानिसले मास्कसमेत खोल्न सक्दैन। अमनदीप र उनका साथीलाई पनि यस्तै भएको थियो। उनीहरु कोरोना पोजेटिभ भएका थिए।
कोभिड वार्डमा स्वास्थ्यकर्मी निकै खतरनाक भाइरल लोडको माहोलमा काम गर्छन्। खोकी, हाच्छ्युँका कारण कोरोना भाइरस एअर ड्रपलेट्समा मिसिन्छ र पीपीई डेसमा बस्छ। सोही कारण मास्कको माथिल्लो सतह समेत संक्रमित हुन्छ।
पीपीई खोल्ने छुट्टै तरिका हुन्छ। गाउन, गगल्स आदि क्रमबद्ध रुपमा खोल्नुपर्छ। किनकी पीपीई खोल्दा एअरोसोल्स र पार्टिकल्स सोही कोठामा रहन्छ। डाक्टर अमनदीप कौर उनका पति डाक्टर सन्दीप डोगराका अनुसार कोरोनाको पहिलो लहरमा पीपीई लगाउँदा समेत धेरै डाक्टर पोजेटिभ भएका थिए। किनकी वार्डबाट आएपछि उनीहरुले बाहिर निस्किएँ, अब केही हुँदैन भनेर कोठामै मास्क खोल्थे। उनी भन्छन्, ‘त्यो समयमा यो कुरा थाहा थिएन। अब थाहा भएको छ।’
भयानक तरिकाले आएको कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ। जसका कारण डाक्टरहरुमा आफ्नो परिवारमा यो भाइरस फैलिने हो कि भन्ने डर देखिन्छ। मोतिहारीका सर्जन डाक्टर आशुतोष शरण भन्छन्, ‘ओपिडीबाट आउँदा गाउन, पञ्जा परिवर्तन हुन्छ। आफैंलाई स्यानिटाइज गर्छु। घरमा गएर तातो पानीले नुहाउँछु। अनि मात्रै घरमा पस्छु।’
- बीबीसी हिन्दीबाट