काठमाडौं - शिक्षासेवी तथा सिद्धार्थ वनस्थली स्कुलका संस्थापक लक्ष्मण राजवंशीको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ। उनको नर्भिक अस्पतालमा आज बिहान साढे आठ बजे निधन भएको हो। बाथरुममा चिप्लियर बेहोस् भएका उनको १३ दिनदेखि उपचार भइरहेको थियो।
उनी दोस्रो संविधानसभामा नेपा: राष्ट्रिय पार्टीका सांसद पनि थिए। २०१६ सालको निर्वाचनपछि बनेको संसद्मा पनि उनले काम गर्ने अवसर पाएका थिए। उनी त्यति बेला ‘नेपाल कम्युनिस्ट पार्टीको संसदीय बोर्डको सचिव थिए।
५५ वर्षसम्म शिक्षण पेसामा रहेका राजवंशीले आनन्दकुटी विद्यापीठ र सिद्धार्थ वनस्थली स्कुलको प्रधानाध्यापक भएर काम गरेका थिए। नेपाल भाषा, नेपाली र अंग्रेजीमा कलम चलाउने उनका तीन दर्जनभन्दा पुस्तक प्रकाशित छन्। उनले नेपाल भाषामा १५ वटा, नेपालीमा सात र अंग्रेजीमा पाँच वटा किताब लेखेका छन्। काठमाडौंको वटुमा १९९२ जन्मिएका राजवंशी शिक्षक, समाजसेवी, राजनीतिकर्मी र लेखकका रूपमा परिचित छन्।