बुटवल- कोरोना संक्रमणले लुम्बिनीका कोरोना विशेष अस्पतालमा बेड अभाव भएको समाचार सार्वजनिक हुन थालेपछि संसदीय समितिले तत्काल आवश्यक उपकरण र बेड संख्या थप्न निर्देशन दिएको छ।
लुम्बिनी प्रदेशसभाको सामाजिक विकास समितिको शुक्रबार बसेको बैठकले कोभिड अस्पतालहरुलाई स्तरोन्नति गरी यथाशीघ्र आवश्यक उपकरणलगायत बेड संख्या थप गरी प्रभावकारी सेवा दिन प्रदेश सरकारलाई निर्देशन दिएको हो।
शिक्षा तथा सामाजिक विकास मन्त्री कल्पना पाण्डे लम्साललाई बैठकमा बोलाएर कोभिड –१९ संक्रमितलाई उपचारको प्रबन्ध गर्न समितिले निर्देशन दिएको हो। बैठकले प्रदेश भित्रका १२ वटै जिल्ला अस्पतालहरुलाइ कोभिड अस्पतालको रुपमा थप सेवा यथाशीघ्र उपलब्ध गराई सेवा सञ्चालन गर्नसमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
लुम्बिनी प्रदेश सरकारद्वारा स्थापना गरिएको चारवटा कोभिड विशेष अस्पतालमा संक्रमितले उपचार नै नपाउने अवस्था आएको छ। स्थिति असहज भएकाले सरकारको ध्यानार्कषण गराउँदै कोभिडको उपचारमा लाग्न समितिले निर्देशन दिएको छ। समितिका सभापति दीर्घनारायण पाण्डेयले कोरोनाका कारण लुम्बिनी प्रदेश प्रभावित बनेकाले सरकारलाई तत्तकाल उपचार सेवा प्रभावकारी बनाउन निर्देशन दिइएको बताए।
बैठकले चालू आर्थिक वर्षमा शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा खर्च हुन नसक्ने विनियोजित बजेटलाई तत्काल रकमान्तर गरी कोभिड अस्पतालहरुको सेवामा खर्च गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको सभापति पाण्डेयले बताए।
गत वर्ष शिक्षातर्फको भैतिक पूर्वाधार निर्माणमा विनियोजन भएको बजेट न्यून रहेको भन्दै समितिले आगामी आ.व. २०७८/७९मा सो रकम वृद्धि गरी दोब्वर बनाउन निर्देशन दिएको छ।
बैठकले महिला विद्यालयको हकमा बजेट न्यून भएकोले आगामी आ.व.मा वृद्धि गरी छात्रावास प्रवन्ध समेतको लागि बजेट ब्यवस्थापन गर्न निर्देशन समेत दिएको छ।