आइतबार, असोज ११, २०८३

पुनर्निर्माण प्राधिकरण : ६ वर्षमा साढे ३ खर्ब खर्च

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापनाको ६ वर्षमा साढे ३ खर्ब रुपैयाँ खर्च गरेको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापनाको ६ वर्षमा साढे ३ खर्ब रुपैयाँ खर्च गरेको छ।

प्राधिकरणले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था तथा राष्ट्रिय सम्पदालगायतको पुनर्निर्माणमा ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी गराएको हो। ‘हालसम्म नेपाल सरकार एवम् दातृ निकायहरुको समेत गरी २०७७ चैत्र मसान्तसम्म कुल ३ खर्ब ५७ अर्ब रुपैयाँ खर्च भैसकेको छ’ प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ।

२०७२ साल वैशाख १२ तथा त्यसपछि गएका भूकम्पका परकम्पहरुका कारण भत्किएका भौतिक संरचना पुनर्निर्माणका लागि कुल ४ खर्ब ८८ अर्ब लागत लाग्ने अनुमान गरिएको थियो।

सो अवधिमा प्राधिकरणले सबै किसिमका पुनर्निर्माण गर्नुपर्ने कार्यको ९३ प्रतिशत उपलब्धि भएको दाबी गरेको छ। प्राधिकरणले समग्र पुनर्निर्माण लागि छिमेकी मुलुक तथा मित्र राष्ट्रहरुबाट ठूलो मद्दत मिलेको बताएको छ। दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको ४ खर्ब १० अर्ब रुपैयाँमध्ये ६७ अर्ब राहत तथा उद्धार एवम् अन्य कार्यक्रममा खर्च भएको प्राधिकरणको भनाइ छ।

त्यस्तै भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको हुँदा वास्तविक प्रतिबद्धता रकम जम्मा २ खर्ब ९४ अर्ब रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

सोमध्ये २ खर्ब ४३ अर्ब रुपैयाँका लागि सम्झौता भई स्रोत सुनिश्चितता भएको प्राधिकरणले जनाएको छ।
यसबाहेक गैरसरकारी संस्थाहरुसँग करिब ९० अर्ब रुपैयाँ परिचालनका लागि सम्झौता भएको र करिब ७२ अर्ब रुपैँया परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

यस्तो छ प्रगति

गत वर्ष सुरु भएको कोभिड–१९ का कारण उत्पन्न परिस्थितिबीच पुनर्निर्माणको कार्यमा सन्तोषजनक उपलब्धि हाँसिल भएको प्राधिकरणको दाबी छ।

जसअनुसार निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको छ। अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १०४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको छ। पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत पुगिसकेको छ। यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ।

क्षतिग्रस्त ९२० सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ। त्यसमध्ये २८८ वटा सम्पदा पुनर्निर्माण भइरहेका छन्।

क्षति भई मर्मत गर्नुपर्ने ४०२ गुम्बामध्ये २९४ वटा सम्पन्न भइसकेका छन्। त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त कुल ७,५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएका छन्। विद्यालयको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ।

त्यस्तै, कुल १,१९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण सम्पन्न भएको छ भने २९६ को पुनर्निर्माण जारी रहेको प्राधिकरणले जानकारी दिएको छ। कुल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणको दाबी छ।

प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणको उपलब्धिमा उल्लेख छ। 

विभिन्न जिल्लामा ७६२ किलोमिटर सडक पुनर्निर्माण गर्नुपर्नेमा ५२५ किलोमिटर सडकको काम सम्पन्न भइसकेको र बाँकीको चालू आर्थिक वर्षभित्रै सम्पन्न गरिने प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित: Apr 23, 2021| 14:53 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्