काठमाडौं- परिवारको आवश्यकता पूरा गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल।
तर साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए। आफ्नो परिवारमा खुसी ल्याउने इच्छा पालेर साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्यो।
साथीभाइको सहयोगमा गैरकानुनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम सुरु गरेका भुजेल कामकै क्रममा ठूलो दुर्घटनामा परे। उनी स्थानीय एक अस्पतालमा साढे दुई वर्षसम्म उपचारका लागि भर्ना भए।
त्यो अवधिमध्ये तीन महिनासम्म त भुजेल कोमामा थिए। परदेशमा बेखर्ची रहेका भुजेललाई अस्पतालले दुई करोड ५० लाख (८ लाख २३ हजार रियाल) को बिल थमाइदियो।
खानबस्नसमेत समस्यामा परेका भूजेल अस्पतालको बिल देखेर छाँगाबाट खसेझैं भए। बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामिली कियर अस्पतालले उनीविरुद्ध मुद्दा हाल्यो।
सोही मुद्दाका कारण भुजेलले साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे। विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्पर्कमा आइपुगे। दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भुजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो।
नेपाली दूतावासको विशेष पहलकदमीपछि अस्पतालले भुजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिईदियो। भूजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन। आर्थिक रुपमा निकै कमजोर रहेका भूजेलको सहयोगको लागि नेपाली दूतावास साउदीले गैरआवासीय नेपाली संघलाई आग्रह ग¥यो। त्यसपछि भुजेलको नेपालसम्मको उद्धारको जिम्मेवारी संघले लिएको थियो।
संघको कोभिड–१९ राहत तथा उद्धार कार्यक्रमअन्तर्गत उनलाई साउदीदेखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाडौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो।
उनको सहयोगार्थ संघले आफ्ना स्वयंसेवकहरु परिचालनसमेत गरेको थियो। विराटनगरबाट घरसम्म जानका लागि गाडीकोसमेत व्यवस्था संघले मिलाएको थियो। गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालहरुको उद्धार र पुनस्र्थापना कार्यक्रमअन्तर्गत भुजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाएको हो।
भुजेलको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ। वैदेशिक रोजगारीको लागि १ लाख रुपैयाँ चर्को ब्याजमा ऋण लिएका भूजेलको ऋण अहिले ब्याजसहित ३ लाख ५० हजार नाघिसकेको छ। परिवारसँगको भेटपछि प्रसन्न रहेका भुजेल अब के गर्ने भन्ने चिन्तित छन्।
अहिले उनको ठूलो चिन्ता साहुको ऋण कसरी तिर्ने भन्ने हो। उनी भन्छन्, जसोतसो बाँचेर त आएँ तर अब के गर्ने भन्ने चिन्ता छ। साउदी अबरस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाह गर्ने रियादस्थित फ्यामिली केयर अस्पताल, स्वदेश फिर्तीको लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरिदिने गैरआवासीय नेपाली संघलगायतलाई धन्यवाद दिएको छ।
संघका उपाध्यक्ष एवम् वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री के.सीले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई राहत तथा उद्धारको काम जारी रहेको बताए।
उनले संघको यस कार्यक्रमअन्तर्गत सेप्टेम्वर २०२० देखि हालसम्म कोभिड–१९ का कारणले समस्यामा परेका १७ हजारभन्दा बढी नेपाली श्रमिलाई राहत तथा उद्धारसम्बन्धी सहयोग पुर्याएको बताए।