काठमाडौं- आम नागरिकलाई स्वास्थ मापदण्ड अपनाउन आग्रह गरेको सरकारले नै एकपछि अर्को गर्दै मापदण्डहरु उल्लंघन गरिरहेको छ।
दोस्रो लहरको कोरोना फैलिन नदिन भन्दै सरकारले २५ जनाभन्दा बढी संख्यामा भेला हुन नपाउने सूचना जारी गरेको छ। उक्त सूचनापछि पनि स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली नै उल्लंघन गरेका थिए। उनले चितवनको माडीमा रामसीताको मूर्ति राख्ने उद्येश्यले बालुवाटारभित्रै ठूलो संख्यामा मानिस आमन्त्रण गरेका थिए।
चितवनमा पनि हजारौंको संख्यामा मानिस भेला गरी रामसीताको मूर्ति राखिएको थियो। प्रधानमन्त्रीको उक्त कार्यको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। आलोचना सेलाउन नपाउँदै सरकारले नै शनिबार काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहराको उद्घाटनमा पनि सहभागी हुन आह्वान गरेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रबार जुममार्फत् पत्रकार सम्मेलन गर्दै आगामी आइतबार ११ बजे धरहरा उद्घाटनमा सहभागी हुन अनुरोध गरेको छ।
‘धरहराको वैशाख ११ गते ११ बजे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ। म संचारकर्मी मित्रहरुलाई उक्त कार्यक्रममा स्वास्थ्य मापदण्डको पालना गर्दै उपस्थितिका निम्ति हार्दिक निमन्त्रणा गर्न चाहन्छु’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।