आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुनर्निर्माण प्रक्रियामा रहेका संरचना पनि प्राधिकरणको उपलब्धिमा समावेश

पुनर्निर्माण प्रक्रियामा रहेका संरचना पनि प्राधिकरणको उपलब्धिमा समावेश

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको चरणमै रहेका संरचनालाई पनि आफ्नो अहिलेसम्मको उपलब्धिमा समावेश गरेको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको चरणमै रहेका संरचनालाई पनि आफ्नो अहिलेसम्मको उपलब्धिमा समावेश गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले पुनर्निर्माण सम्पन्न नभइसकेका संरचनालाई समेत उपलब्धिमा समावेश गरेको हो।

जसअनुसार पुनर्निर्माणको क्रममा रहेका र पुनर्निर्माण सम्पन्न भइसकेका गरी ९३ प्रतिशत उपलब्धि निजी आवास पुनर्निर्माणमा भएको प्राधिकरणको दाबी छ।

निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये ७ लाख ५३ हजार १०४ लाभग्राही पुनर्निर्माणको प्रक्रियामा रहेका प्राधिकरणले जनाएको छ। प्राधीकरणको उक्त तथ्यांकभित्र पुनर्निर्माण भर्खर सुरु भएका निजी आवासलाई समेत समेटिएको प्राधिकरणले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि पहिलो किस्ता ९९.८६ प्रतिशत, दोस्रो किस्ता ८६.७८ र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत रहेको छ। यसै आर्थिक वर्षभित्र निजी आवासको मुलभूत काम सम्पन्न गर्ने लक्ष्य हाँसिल भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए।

प्राधिकरणका अनुसार हालसम्म ६९८ स्वास्थ संस्था मात्रै पुनर्निर्माण सम्पन्न भएका छन्। पुनर्निर्माण सम्पन्न भएका स्वास्थ संस्थाको उक्त संख्या ५८.३ प्रतिशत हो। कुल १ हजार १९७ स्वास्थ संस्था पुनर्निर्माण गर्ने गरी भूकम्पबाट प्रभावित भएका प्राधिकरणको तथ्यांक छ।

प्राधिकरणले शुक्रबार गराएको जानकारीअनुसार २९६ स्वास्थ्य संस्था पुनर्निर्माण भइरहेका छन्। कुल ७ हजार ७५३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्ने गरी भूकम्पबाट क्षति भएकोमा हालसम्म ६ हजार २४६ विद्यालय पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ। पुनर्निर्माण सम्पन्न भएका विद्यालयको संख्या ८२.७ प्रतिशत हो। प्राधिकरणका अनुसार १ हजार ३०७ विद्यालय पुनर्निर्माणको चरणमा छन्।

पुनर्निर्माण गर्नुपर्ने गरी कुल ४१५ सरकारी भवनमा क्षति पुगेकोमा हालसम्म ३७४ सरकारी पुनर्निर्माण भएका छन्। उक्त संख्या ९० प्रतिशत रहेको प्राधिकरणको दाबी छ। हाल ३८ वटा सरकारी भवन पुनर्निर्माणको चरणमा छन्।

त्यस्तै भूकम्पका कारण सुरक्षा निकायका २१६ वटा भवनहरुमा क्षति पुगेको थियो। तीमध्ये २१४ वटा पुनर्निर्माण भइसकेका र २ वटा पुनर्निर्माणको चरणमा रहेका प्राधिरणले जानकारी दिएको छ। कुल ९२० वटा सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्नुपर्ने भए पनि हाल ४९३ अर्थात् ५३.६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएका प्राधिकरणको तथ्यांक छ। हाल २८८ वटा सांस्कृति सम्पदा पुनर्निर्माण भइरहेका छन्।

प्राधिरणले मूख्य रुपमा धरहराको पुनर्निर्माणलाई आफ्नो उपलब्धिका रुपमा लिएको छ। धरहरा पुनर्निर्माणका कतिपय काम सम्पन्न नभए पनि प्राधिकरणले मूख्य उपलब्धिका रुपमा धरहरा, रानी पोखरी, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पुनर्निर्माणलाइ लिएको छ।

प्रकाशित: Apr 23, 2021| 12:32 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्