काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित निजी आवासमध्ये ९३ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ।
प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गर्दै पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जानकारी गराएको हो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये ७ लाख ५३ हजार १०४ लाभग्राहीको आवास पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए। उनका अनुसार पुनर्निर्माणका लागि सुरुवात गरिएका निजी आवासलाई समेत प्राधिकरणले आफ्नो उपलब्धिमा समावेश गरेको छ।
प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि पहिलो किस्ता ९९.८६ प्रतिशत, दोस्रो किस्ता ८६.७८ र तेस्रो किस्ता ७८.६६ वितरण भएको छ। ‘यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने कुरामा हामी विश्वस्त छौं,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पत्रकार सम्मेलनमा भने।