शुक्रबार, भदौ १२, २०८३

दुई दिनको वार्तापछि झन् टाढिए ओली र नेपाल

दुई दिनको वार्ता निष्कर्षहीन भएपछि एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलायो। बैठकले नेपाल पक्षलाई पूरै निषेध गर्दै विभिन्न निर्णयहरु गर्‍यो।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– केही महिनादेखि चरम आन्तरिक किचलोमा फसेको सत्तारुढ दल नेकपा (एमाले) मा बुधबार एउटा ‘आइसब्रेक’ भयो। लामो समयदेखिको संवादहिनता तोड्दै पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक्लाएक्लै वार्तामा बसे।

नक्सालस्थित एक होटलको कोठामा दुई दिन वार्ता चल्यो। पछिल्लो दिन त नेताद्वयले होटलको झ्यालबाट नवनिर्मित धरहरा नियाल्दै गरेको तस्बिरसमेत खिचाए। 

फुटको संघारमा पुगिसकेको एमालेका मुख्य ‘झगडिया’ नै एकल वार्तामा बसेपछि सञ्चारकर्मीलाई चासो हुनु स्वाभाविक नै भयो। वार्ता भइरहेको होटलमा पत्रकारहरुको ठूलै भीड लाग्यो। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली निस्किएको त सञ्चारकर्मीले पत्तै पाएनन्। वरिष्ठ नेता नेपालले भने वार्ता सकारात्मक भएको छोटो प्रतिक्रिया दिए पहिलो दिन।   

भोलिपल्ट बिहीबार भने ओलीको कुराबाट आफू निराश भएको बताएर होटलबाट निस्किए नेपाल।  

दुई दिनको वार्ता निष्कर्षहीन भएपछि एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलायो। अध्यक्ष ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा नेपाल पक्ष सहभागी हुने कुरै भएन।

बैठकले नेपाल पक्षलाई पूरै निषेध गर्दै विभिन्न निर्णयहरु गर्‍यो। वरिष्ठ नेता नेपाल र खनालसहित उक्त समूहका कसैलाई नसमेटी स्थायी कमिटी पुनर्गठन गरियो। नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यलाई हटाएर पुनर्गठन गरिएको स्थायी कमिटीमा माओवादीबाट आएका नेताहरुलाई समावेश गरिएको छ। 

पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्ष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, किरण गुरुङ, मणि थापा र पुष्पराज कँडेल छन्।

माओवादी केन्द्र परित्याग गरेर आएका रामबहादुर थापा, टोपबहादुर रायामाझी, लेखराज भट्टलगायत स्थायी कमिटीमा आएका छन्।
यसअघि स्थायी कमिटीमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने स्थायी कमिटीबाट हटाइएका छन्। 

शुक्रबारकै बैठकबाट कर्णाली प्रदेशमा पार्टीको ह्विप नटेरी फ्लोर क्रस गरेर मतदान गर्ने चार जना सांसद निष्कासनमा परे। फ्लोर क्रस गरी माओवादीको सरकार जोगाइदिने सांसदलाई पार्टी र संसद् सदस्य नरहने गरी कारबाही गरिएको छ।

माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही कारबाहीमा परेका हुन्। उनीहरुलाई सांसदबाट हटाउन कर्णाली प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत एमालेले गरेको छ। 

बैठकले केन्द्रीय विभागहरु पनि पुनर्गठन गरेको छ। विभाग पुनर्गठनमा भने नेपाल पक्षका नेताहरुलाई समावेश गरिएको छ। तर, मुख्य जिम्मेवारी दिइएको छैन। बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिएको छ। प्रदीप ज्ञवाली प्रचार विभाग प्रमुख भएका छन् भने स्कुल विभागको अध्यक्षमा अध्यक्ष केपी ओली आफैं छन्। 

विदेश विभागको जिम्मेवारी राजन भट्टराईलाई दिइएको छ। विद्यार्थी विभागमा खिमलाल भट्टराई, युवामा महेश बस्नेत र महिला विभागमा गोमा देवकोटा प्रमुख भएका छन्। 

आजकै बैठकले पार्टीले स्पष्टीकरण सोधेका संघीय संसदमा २७ जना सदस्यलाई आवश्यक कारबाही गर्ने अधिकार स्थायी कमिटीलाई दिएको छ। पार्टीले वरिष्ठ नेता नेपालसहित २७ जनालाई स्पष्टीकरण सोधेकोमा २२ जनाले स्पष्टीकरण दिएका छन्। योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपकप्रकाश भट्टले शुक्रबार अपरान्हसम्म स्पष्टीकरण दिएका छैनन्।

ओली समूहको आजको निर्णयबाट उनी अब नेपाल पक्षसँग नमिल्ने निष्कर्षमा पुगेको बुझ्न सकिन्छ। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने र पार्टी खोस्ने ढंगले आउनेहरुलाई अब पार्टीमा स्थान दिन नसकिने स्पष्ट पारेका थिए।

बुधबार एमालेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पनि उनले पार्टीभित्र भइरहेका गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताएका थिए। उनले भनेका थिए, ‘नेताहरुलाई सम्झाउने–बुझाउने प्रयास गरिरहेका छौ। त्यसलाई कमजोरीको रुपमा नलिइयोस्।’

अब ओलीसँग मिल्न नसकिने निष्कर्षमा वरिष्ठ नेताहरु नेपाल र खनाल पनि पुगेका छन्। बिहीबारको वार्ता निष्कर्षविहीन भएपछि जनकपुर पुगेका वरिष्ठ नेता नेपालले मिल्नका लागि वार्ता गर्न जाँदा उल्टै दम्भ देखाएको र हुर्मत लिन खोजेको भन्दै असन्तुष्टि पोखेका छन्। बिहीबार उनले जनकपुर पुगेर ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन्। 

वार्ताका क्रममा ओलीले ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड’ भन्ने शैली देखाएको उनले बताए। उनले भने, ‘केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न। उहाँले माने मान, नमाने बाटो खुला छ भन्ने दम्भ देखाउनुभयो।’

बुधबारको छलफल सकारात्मक भए पनि बिहीबार छलफल गर्नुअघि नै ओलीले आफ्नो हुर्मत लिन खोजेको नेपालले सुनाए। पार्टी स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा समेत अनेक गाली गरेको र एकल भेटवार्तामा पनि ओली त्यसरी नै प्रस्तुत भएको उनले बताए।

नेपालले भने, ‘मैलै एकलौटी गरेको निर्णय फिर्ता लिएर ०७५ जेठ २ कै अवस्थामा फर्किऊँ भनेर प्रस्ताव गरेको थिए। तर उहाँले सिधै अस्वीकार गर्नुभयो। समानान्तर गतिबिधि बन्द गरे कारबाहीका विषयमा सोच्न सकिने दम्भपूर्ण जवाफ दिनुभयो।’ बिहीबार भएको भेटमा अध्यक्ष ओलीको दम्भ धरहराभन्दा पनि माथि उक्लिएको टिप्पणी नेपालले गरेका छन्। 

एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि अब ओलीसँग मिल्ने सम्भावना नरहेको बताएका छन्। अध्यक्ष ओलीले पार्टीलाई भारदारीकरण गरेको र दलाल पुँजीपतिहरुको क्रिडास्थल बनाएको आरोप उनले लगाएका छन्।

अध्यक्ष ओलीले आज स्थायी कमिटी पुनर्गठन गरेपछि नेपाल समयलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले वार्ताको नौटंकी गर्दै ओलीले एकपछि अर्को निरंकुश निर्णय गरिरहेको बताए। स्थायी कमिटी पुनर्गठन त्यसै अन्तर्गतको एउटा कदम भएको उनको भनाइ थियो।
अध्यक्ष ओलीले आफ्नो पक्षका कसैलाई नसमेटी स्थायी कमिटी पुनर्गठन गरेको समाचार सुनेर आफू एक मिनेट खित्का छाडेर हाँसेको उनले सुनाए। 

प्रकाशित: Apr 23, 2021| 11:43 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।