शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले बैठक : उप-निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन

एमाले बैठक : उप-निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले निकट भविष्यमै हुने राष्ट्रियसभाको उप निर्वाचन र त्यसपछि ६ महिनाभित्र हुने प्रतिनिधिसभा, प्रदेशसभाको उप निर्वाचनको तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएकाे छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं- नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले निकट भविष्यमै हुने राष्ट्रियसभाको उप निर्वाचन र त्यसपछि ६ महिनाभित्र हुने प्रतिनिधिसभा, प्रदेशसभाको उप निर्वाचनको तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएकाे छ।

शुक्रबार बालुवाटारमा बसेकाे बैठकले रिक्त रहेका सबै पदमा पार्टीका उम्मेदवारलाई जिताउनका लागि सक्रिय रुपमा लाग्न पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले नेपाल समूहका नेताहरुलाई सोधिएको स्पष्टीकरणको अध्ययन गर्ने र आवश्यक कारबाही गर्ने अधिकार स्थायी कमिटीलाई दिएको छ। महाधिवेशन आयोजक कमिटी बैठकले ओली निकट नेताहरु सम्मिलित १९ सदस्यीय स्थायी कमिटी गठन गरेको थियो।

स्पष्टीकरण सोधिएका प्रतिनिधिसभाका २७ सांसदहरुमध्ये धेरैजसोको जवाफ आएको र केही आउन बाँकी रहेको भन्दै प्रवक्ता ज्ञवालीले स्पष्टीकरणको अध्ययन र आवश्यक कारबाहीको अधिकार स्थायी कमिटीलाई दिइएको जानकारी दिए।

बैठकले कर्णाली प्रदेशमा गत वैशाख ३ गते फ्लोर क्रस गर्ने ४ जना प्रदेशसभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ। साथै यसको जानकारी प्रदेशसभाको सचिवालयलाई गराउनेसमेत निर्णय गरेको छ।
यस्तै बैठकले समानन्तर गतिविधि गरिरहेका नेताहरुलाई मुल प्रवाहमा फर्किन आग्रह गर्ने, फर्किनेहरुलाई विशेष जिम्मेवारी दिने, निर्णय गर्दै नेपाल पक्षमा लागेका जनप्रतिनिधिहरुलाई टिकट दिने पार्टी र मत दिने जनताको अपमान नगर्न आग्रह गर्ने प्रस्ताव पास गरेको छ।

उनका अनुसार बैठकले ओली निकट रहेका विभिन्न नेताहरुलाई भूगोलको, विभागको तथा जनसंगठनको जिम्मेवारी तोकेको छ। साथै यसअघि नेकपा एक हुँदा र त्यसपछि एमालेमा आन्तरिक कलह हुँदा ओलीको पक्षमा उभिने नेता कार्यकर्ता तथा शुभेच्छुकहरुलाई धन्यवाद दिने निर्णय गरेको छ।

बैठकले गत फागुन २१ गते विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सरकारले गरेको पहलको प्रशंसा गर्दै धन्यवाद दिने निर्णय पनि गरेको छ।

बैठकले गत मंगलबारको बैठकमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिवबाट प्रस्तुत संगठनात्मक प्रतिवेदनमाथि आएका सुझावलाई ग्रहण गर्ने निर्णय गरेको ज्ञवालीले बताए।

बैठकले विगतमा कोरोनाको प्रभावकारी नियन्त्रणमा सरकार सफल भएको निष्कर्ष निकाल्दै अहिले आएको नयाँ भेरियन्टको कोरोना भाइरस नियन्त्रणका लागि पनि सरकारलाई विशेष काम गर्न ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।
यस्तै कोरोना भाइरसको संक्रमण तथा जोखिम न्यूनीकरणका लागि सम्पूर्ण पार्टी कमिटी, जनप्रतिनिधि तथा पार्टीपंक्तिलाई स्वयम्सेवीका रुपमा काम गर्न आग्रह गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

यस्तै एमाले बैठकले म्यानमारमा भएको सैन्य कू र गिरफ्तारीको विरोध गर्दै सेनाको हिरासतमा रहेका नेतृ आङ सान सुकीलगायतका नेताहरुको रिहाइको माग गरेको छ। बैठकले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई दिएको छ। 

प्रकाशित: Apr 23, 2021| 10:26 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।