काठमाडौं– नेकपा (एमाले) ले हालै पदमुक्त भएका रामबहादुर थापालाई पुनः राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ।
पार्टीको आज शुक्रबार बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने बताए।
अध्यक्ष ओलीले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट रामबहादुर थापा नै उम्मेदवार हुने र उनलाई जिताएरै छाड्ने दाबी गरे।
‘हाम्रो पार्टीमा लागेका कारण माओवादीले कारवाहीको नाममा रिक्त बनाएका पदहरुमा ३५ दिनदेखि ६ महिनाभित्र हुने चुनावमार्फत जिताएर ल्याउँछौं। राष्ट्रियसभामा हाम्रो उम्मेदवार रामबहादुर थापा नै हो,’ ओलीले भने।
एमालेमा लागेका पूर्वमाओवादी नेता–कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइने अध्यक्ष ओलीको भनाइ थियो। अब हुने आम निर्वाचनमा एमालेले ५० लाख पपुलर मत ल्याउने ओलीले उद्घोष गरे।