काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको निर्वाचन आयोजक कमिटी बैठक बहिस्कार गरेर निस्किएकी छन्।
आफूले पार्टीका लागि गरेको योगदानको अवमूल्यन गरिएको भन्दै चौधरीले बैठक बहिस्कार गरेकी हुन्। उनी सुनसरी जिल्लाको इन्चार्जको जिम्मेवारी आफूलाई दिनुपर्नेमा त्यसो नगरेको भन्दै बैठकको बीचमै निस्किएर हिँडेकी हुन्।
बैठकबाट निस्किएपछि नेपालसमयसँगकाे प्रतिक्रियामा उनले भनिन्, ‘कार्यविभाजन मिलेन त्यसैले मलाई बैठकमा बस्न मन लागेन। पार्टीले मलाई सँधै अन्याय मात्रै गरिरह्यो। नबौँ महाधिवेशनदेखि नै म केपी बाको पक्षमा लाग्याछु, लागिराछु। म योग्यता नपुगेको महिला पनि होइन, भूगोलमा बसेर काम पनि गरिसक्या छु।’ चौधरीले भनिन्, गरिन्, ‘मैले मेरो अधिकार माग गर्नु के नाजायज हो ? के म त्यहाँको ईन्चार्ज हुन पाउनुपर्छ भनेर भन्नु अनैतिक हो ?'
उनले थपिन्, ‘यदि मेरो योग्यता थिएन भने पार्टीले त्यस्तो निर्णय गर्न सक्थ्यो तर मेरो योग्यता नपुगेको त हैन नि ? मसँगै काम गरेका मेरै लेभलका अन्य जिल्लाका साथीहरुले जिम्मेवारी पाउने मैले चाँहि किन नपाउने ?’
एमालेले सुनसरीमा जगदिश कुसहवालाई जिल्ला ईन्चार्जको जिम्मेवारी दिएपछि उनी बैठक बहिस्कार गरेर हिँडेकी हुन्।
आफूलाई अन्याय गरेकोले बैठकमा बस्न उचित नभएको भन्दै बाहिरिएको उनको प्रतिक्रिया थियो।
चौधरी २०७४ को चुनावमा कांग्रेसका नेता विजय कुमार गच्छदारसँग पराजित थिइन्। भोट गणनामा धाँधली गरेर झिनो मतान्तरले पराजित गराइएको भन्दै उनले मुद्दा नै दिएकी थिइन् अहिलेसम्म यो मुद्दाको टुंगो लागेको छैन।