ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२, सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ।
बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर खड्क लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय खड्कलाई घरको आँगनमा निस्किएका बेला आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको भनाइ छ।
प्रताप भनेरसमेत चिनिने ३० वर्षीय आकाश प्रहरीको नियन्त्रणमा छन् भने घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आकाशलाई घरदेखि केही तल जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो। घटनाको कारण भने खुलेको छैन। रासस