काठमाडौं- एमाले नेता वामदेव गौतमले केपी शर्मा ओलीसँग आफ्नो अटुट सम्बन्ध रहिरहने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग बिहीबार साँझ भेट गरेपछि उनले उक्त कुरा बताएका हुन्। गौतम ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। नेताद्वयले बिहीबार साँझकाे खाना सँगै खाएका छन्।
गौतमको भनाइ उधृत गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले फेसबुकमा लेखेका छन्, 'केपी ओली देशको प्रधानमन्त्री हो, एमालेको अध्यक्ष हो तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ।'
गौतम र ओलीबीच दसौं महाधिवेशन आयोजक कमिटीको बैठक, पार्टीमा देखिएको विवाद, ओलीले माधव नेपालसित गरेको वार्ताका विषयमा छलफल भएको गौतम निकट स्रोतले जानकारी दियो। एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुक्रबार बस्ने कार्यक्रम छ।

ओली र नेपालबीच बुधबार र बिहीबार वान टु वान वार्ता भए पनि निष्कर्षमा पुगेको छैन। नेपालले ओलीसँगको वार्तामा खासै प्रगति नभएको प्रतिक्रिया दिएका छन्। गौतमले ओलीसँग भेट गर्नुलाई दुइ नेताबीच सहमति जुटाउन पहलकदमी गर्न थालेकाे बुझिएकाे छ।
गौतम एमाले विवादमा तटस्थ रहँदै आएका छन्। यसअघि नेकपाभित्र ओली पक्ष र दाहाल नेपाल पक्षबीच विवाद हुँदा पनि गौतमले एकता कायम गर्नुपर्नेमा अभियान नै चलाउँदै आएका थिए।