काठमाडौं- नेपालको वैदेशिक व्यापार बढेसँगै समग्र व्यापार घाटा पनि बढेको छ।
गत वर्षदेखि सुरु भएको कोरोना भाइरसको महामारीले खुम्चिएको वैदेशिक व्यापार बढेसँगै समग्र व्यापार घाटा पनि बढेको हो। चालू आर्थिक वर्ष २०७७/०७८ को ९ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ पुगेको भन्सार विभागले जानकारी दिएको छ।
भन्सार विभागका अनुसार यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १२.४९ प्रतिशतले वृद्धि हो। गत वर्षको साउनदेखि चैतसम्म नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ रहेको थियो।
चालू आर्थिक वर्षमा ९२ रुपैयाँ १४ पैसाको वस्तु तथा सेवाको आयात हुँदा ७ रुपैयाँ ८६ पैसा बराबरको नेपालबाट निर्यात भइरहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। गत वर्षको सोही अवधिमा आयात र निर्यातको अनुपात क्रमशः ९२ रुपैयाँ ५७ पैसा र ७ रुपैयाँ ४३ पैसा रहेको थियो।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा निर्यात ५.८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म कुल ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवाको आयात भएको छ। सो अवधिमा ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ।
विभागको तथ्यांकअनुसार यस वर्ष ९ महिनामा १३.१२ प्रतिशतले आयात बढ्दा निर्यात २०.२३ प्रतिशतले बढेको छ। विभागका अनुसार ९ महिनामा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख रुपैयाँ माथिको वैदेशिक व्यापार भएको छ। गत वर्षको सोही अवधिमा १० खर्ब ६१ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ हाराहारीको वैदेशिक व्यापार भएको थियो।