कैलाली– पछिल्लो समय सुदूरपश्चिममा नयाँ भेरिएन्टका कोरोना संक्रमित फेला पर्ने दर दैनिक रुपमा वृद्धि भइरहेको छ।
बिहीबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १६२ नमुनाको परीक्षण गर्दा प्रदेशका विभिन्न जिल्लामा थप ४४ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्। प्रदेशमा चार सयभन्दा बढी कोरोनाका संक्रिय संक्रमित पुगेका छन्।
सुदूरपश्चिम कोरोनाको ‘हटस्पट’ बन्दै गएपछि कैलाली र कञ्चनपुरमा आंशिक निषेधाज्ञा जारी गरिएको छ।
दोश्रो लहरसँगै बालबालिका कोरोनाको उच्च जोखिमा परेपछि कैलालीको धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका लगायतका स्थानीय तहमा पठनपाठन बन्द गरिएको छ।
तर, बझाङको बित्थडचीर गाउँपालिका अन्तर्गतका सबै विद्यालयमा वैशाख १२ गतेबाट वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ। गाउँ कार्यपालिकाको बैठकले कोरोना महामारी बढ्न सक्ने भन्दै वैशाख १२ गतेदेखि वार्षिक परीक्षा गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख मदन बमले बताए।
कक्षा ८, १० र १२ बाहेक सबै तहको परीक्षा १२ गतेदेखि सुरु हुने बमले बताए। पालिकास्तरमा हुने कक्षा ८ को परीक्षा भने वैशाख २६ गतेबाट सुरु हुनेछ। कोरोनाको जोखिमलाई ध्यानमा राखेर उच्च सतर्कताका साथ परीक्षा गरिने उनले बताए।
बझाङमा हाल कोरोनाका संक्रिय संक्रमित दुइ जना छन्। हालसम्म जिल्लामा ३ जना संक्रमितको मृत्यु भइसकेको छ।