काठमाडौं– सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा कुनै प्रगति नभएको बताएका छन्।
दुई नेताबीच बिहीबार राजधानीको मेरियट होटलमा भएको वार्तापछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै नेपालले भने, ‘वार्तामा खास प्रगति भएन।’
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले भने वार्ता सकारात्मक रहेको बताएका छन्।
उनले भने, ‘लामो समयदेखि रहेको विवादको समाधान एकदुई दिनको वार्तामा हुँदैन। केही समय लाग्नेछ।’
नेपालले ओलीसँगको वार्तापछि केहीबेर दुगडसँग पनि छलफल गरेका थिए। दुगडले वार्ता जारी रहने बताए। उनले वार्ताको अर्को मिति भने बताएनन्।
यसैबीच नेता नेपाल आजै साँझ जनकपुर जाने भएकाले उनी फर्केपछि वार्तालाई निरन्तरता दिइने उनको भनाइ छ।
सोही होटलमा नेताद्वयबीच बुधबार र बिहीबार वार्ता भएको छ। बिहीबार दुई घन्टा लामो वार्तापछि प्रधानमन्त्री ओली र नेता नेपाल बैठकस्थलबाट निस्किएका छन्। वार्तामा के भयो भन्ने बारे केही सार्वजनिक भएको छैन। तर विगत केही महिनादेखि जारी संवादहीनता भने तोडेको छ।