काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र पठाएका छन्।
भाइबर, इमेल र खामबन्दीसहित स्पष्टीकरणका लागि पाएको पत्रको जवाफ दिँदै खनालले आफूलाई दल त्याग गरेको भनिएको प्रति आश्चर्य व्यक्त गरेका छन्।
उनले नेतृत्वको आलोचना गर्दा दल त्यागेको भन्नु आश्चर्यजनक भएको बताएका छन्। ‘पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमावलीको विरुद्ध गरिएका कामहरु सच्याउनका लागि मैलो आवाज उठाएको हुँ।’ खनालले भनेका छन्, ‘यसलाई अलग पार्टी खोलेको भन्नु आपत्तिजनक एवम् पार्टीको विरुद्ध बोलेको वा काम गरेको भन्नु सरासर गलत हो।’
‘यसलाई नेपालको संविधानको धारा ८९ (ङ) मा उल्लेखित दल त्याग गरेको सूचित गरेमा’ पदमुक्त हुने, राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ मा ‘दल गठन गरेको सूचित गरेमा’ र सोही ऐनको दफा ३२ (१) मा ‘नयाँ दल गठन गरेमा’ संसदीय दलको सदस्यको पदमा रहन नसक्ने भन्ने व्यवस्थासँग तुलना गर्नु आग्रा र गाग्राको तुलना गरेजस्तो ठहर्छ।’ खनालले भनेका छन्।
उनले आफूले नेपालको संविधानको धारा ८९ (ङ) र राजनीतिक दलसम्बन्धी उक्त प्रावधानविपरीत कुनै काम नगरेको प्रष्ट पार्दै पार्टीको वरिष्ठ नेताको हैसियतमा अध्यक्षले गरेका गलत क्रियाकलापको विरोध गर्ने संवैधानिक अधिकार रहेको समेत बताएका छन्।
साथै नेता खनालले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्टी एकताको रक्षाका लागि पहल गर्न पठाएको प्रस्तावको ख्याल गरी त्यसमा लागेको भए हित हुने स्मरण गराएका छन्।
‘तर विनासकाले विपरित बुद्धि भनेजस्तै तपाई पार्टीका नेता र कार्यकर्ताहरुलार्य कथित अनुशासनको कारबाही गर्दै पार्टी विभाजन र विसर्जनतिर लागिरहेको देख्दा मलाई अत्यन्त दुःख लागेको छ।’ खनालको स्पष्टीकरण पत्रमा उल्लेख छ।
नेता खनालले पार्टीका नेताहरुलाई जिम्मेवारीबाट हटाउने, कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउनुका साथै स्वेच्छाचारी किसिमले केन्द्रीय कमिटीमा सदस्यहरु थप्ने कार्य गरेको भनी ‘अपानी’ जारी गरेकाले राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन, पार्टी विधान र नियमावली मिचेर गरेका त्यस्ता कार्यहरुको आलोचना गर्दै त्यस्ता गलत कामहरु रद्ध गर्न आफूले माग गरेको र त्यो माग कायम रहेको पनि चार पेज लामो स्पष्टीकरण पत्रमा स्पष्ट पारेका छन्।
स्पष्टीकरणकाे पूर्णपाठ